याम माबोहाङ लिम्बू
इलाम  । स्थनीय सीपलाई प्रबद्र्धन गरी रोजगारको अवसर दिनुपर्ने इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नती परियोजनाले आयोजना गरेको स्थानीय बाटो निर्माण तथा मर्मत गर्ने मिस्त्री तालिम उद्घाटन समारोहका सहभागीले स्थानीय सीपलाई प्रबद्र्धन गरेर विकास निर्माणमा उपयोग गर्न सके रोजगारको लागि विदेशीनु नपर्ने बताए ।

विकास निर्माणको काममा स्थानीय सीप र स्रोतलाई उपयोग गर्न सके स्थानीय क्षेत्रमा नै रोजगारको अवसर प्राप्त हुँने जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताए । उनले स्थानीय क्षेत्रमा परम्परागत रुपमा सिकेका सीपलाई समय सापेक्ष विकास गर्दै, रोजीरोटीको माध्यम बनाउँनु पर्नेमा जोड दिए ।

ढुङगा र माटोको काम गर्नेलाई तालिम प्रदान गरी स्थानीय क्षेत्रमा हुने सडक निर्माणको काममा इन्जीनियरसँगै सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने एक महिना लामो तालिमले सडक निर्माण मात्र होइन आवासीय निर्माण कार्यमा समेत सहयोग पुग्ने जिल्ला प्राविधिक कार्यालय इलामका प्रमुख ओमराज ढुङ्गानाले बताए ।

स्थानीय पेशा व्यवसायलाई प्रवद्र्धन गर्दै बजार योग्य बनाउँन सरोकारलाले ध्यान दिनुपर्ने जोड दिदै जनशक्तिको विकास गर्नु इलामका जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाइले बताए । उनले सीपलाई बजार योग्न बनाउँन स्थानीय सरकारले काम गर्नुपर्ने सुझाब समेत दिए ।

सिकेको सीपलाई सहि ठाउँमा उपयोग गर्न सके जीविकोपार्जनमा सहयोग पुग्ने भएकोले सिक्नेले आफूलाई दक्ष जनशक्तिको रुपमा उभ्याएर रोजगार बिहिन नहुँने नगरपालिकाका उपप्रमुख दुर्गा भट्टराईले बताइन् ।

गाउँमा अन्य रोजगार नभएका ढुङ्गा माटोको काम गरेर जीवन निर्वाह गर्दै आएका तीन दर्जन बढी सहभागी तालिममा सडकमा ग्राबेल, ढल निकास, ग्याबिन, रिटेनिङ वाल लगाउँने सैद्धान्तिक र व्यवहारिह ज्ञान दिइने छ । एक्सट्रीम इन्जीनियरिङ सोलुसन प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिमका सहभागीलाई सामान्य नक्सा पढ्न सक्ने, कामको स्टीमेट र गुणस्तरीयता मापन गर्न सिकाउँने एक्सट्रीम इन्जीनियरिङ सोलुसन प्राइभेट लिमिटेडका संयोजक मानस कार्कीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया