इटहरी । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा अब प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने विषय चर्चामा छ ।
प्रदेश नं १ मा प्रत्यक्षतर्फ वाम गठबन्धले ४६ सिट जितेको छ जुन संख्या दुई तिहाइभन्दा बढी हो । १४ जिल्लामा ५६ सिट भएको प्रदेश सभामा बाम गठबन्धनले ४४ वटामा जित निकालिसकेको छ । यो भनेको ७८ प्रतिशत हो । दुई तिहाइका लागि ३८ जना सदस्य भए पुग्छ । मतपरिणाम र सिटका हिसाबले १ नम्बरमा मुख्यमन्त्रीको दाबी एमालेको नै हुने देखिन्छ ।
मुख्यमन्त्रीका लागि एमालेका तर्फबाट दुईजना ‘हेभिवेट’ उम्मेदवार चर्चामा छन् । एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई दुवै मुख्यमन्त्रीका प्रमुख दावेदारका रुपमा रहेका छन् ।
भीम आचार्य प्रदेश नं–१ एमालेका संयोजक हुन् । प्रदेशसभामा उनी सुनसरी–१ ‘ख’ बाट २० हजार दुई सय ११ मतका साथ विजयी भए । गृहजिल्ला सुनसरी भएका आचार्य पूर्व सँस्कृति तथा पर्यटन मन्त्री हुन् ।
यता, यस्तै एमाले १ नम्बर प्रदेशका सहसंयोजक राई २० हजार तीन सय ३४ मतका साथ भोजपुर ‘ख’ बाट विजयी भएका हुन् । गृह जिल्ला भोजपुरबाट विजयी भएका राई सूचना तथा सञ्चारमन्त्री समेत रहेका छन् । चुनाव अघिनै राईले आफ्नो जित निश्चित भएको भन्दै प्रदेश १ को मुख्यमन्त्री आफु नै हुने बताएका थिए ।
‘नेपालमै सम्भावना बोकेको, सुन्दर, धार्मिक, ऐतिहासिक हिसाबले अगाडी रहेको प्रदेशलाई नेतृत्व दिने र विकास गर्ने इच्छाशक्ति म मा छ,’ उनले भने, ‘कुनै लोभ नभएको, दृढ भावना भएको र पार्टीका र जनताका ऐजेण्डालाई तीव्र गतिमा अघि बढाउन सक्ने नेता भएकोले मेरो दावी हो ।’
तर, आर्चायले भने औपचारिकरुपमा मुख्यमन्त्रीको दाबी गरेको अभिव्यक्ति दिएका छैनन् । उनले समय आएपछि आफै स्पष्ट हुने बताए ।
बैकल्पिक पोलिटब्युरो सदस्य राई पार्टी अध्यक्ष केपी ओलीका खास मान्छे भएकोले उनले पनि मुख्यमन्त्रीमा बाजी मार्नसक्ने एमालेका नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया