इटहरी, २० मङ्सीर।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरण अन्तर्गत भोलि सम्पन्न हुने सुनसरी जिल्लाका सम्पूर्ण १६६ मतदान स्थलमा रहेका ५२७ मतदान केन्द्रहरु निर्माण कार्य पुरा भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले बताएको छ ।

मतदानका लागि सर्वसाधारण मतदाताहरुलाई सहज रुपमा मतदानको अवसर सिर्जनाका लागि परिचालित मतदान अधिकृत सहायक मतदान अधिकृत अन्य आवश्यक कर्मचारी सहित ४ हजार २ सय १६ जना कर्मचारी दुई दिनअघि नै तोकिएको मतदान केन्दमा पुगि मतदान केन्द्रहरु तयार गर्ने कार्य पुरा गरेको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।

यस जिल्लाको पछिल्लो थप मतदाता नामावलीमा सुचिकृत मतदाता अनुसार ४ लाख ७४ हजार ८ सय ३१ जना मतदाताहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्ने गरी मतदाता परिचय पत्र समेत वितरण गरिसकिएको बताईएको छ ।

मतदानका लागि मतदाता सङ्ख्या अनुरुपका मतपत्र, फोटो सहितको मतदाता नामावली र पछि थप गरिएको फोटो सहितको मतदाता परिचय पत्र लिएर गएका कर्मचारीहरुको टोलीले मतदाता परिचय पत्र वितरण गर्ने कार्य समेत पुरा गरेको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सम्पूर्ण मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरिएकाले आम मतदातालाई ढुक्क भएर मतदान गर्न सकिने अवस्थामा कसैले अवरोध तुल्याउन नसक्ने बताउनुभयो । साथै उहाँले थप मद्दतका सुरक्षा टोली र अवाई गस्ती समेत हुने भएकाले मतदाताहरुले ढुक्क भएर मतलान गर्न पाउने सुरक्षा ब्यवस्था मिलाईएको पनि जानकारी दिईएको छ ।

नेपाल सरकारको सुरक्षा रणनीति बमोजिम म्यादी प्रहरी नेपाल प्रहरी शसस्त्र प्रहरी दङ्गा नियन्त्रण प्रहरीसँगै नेपाली सेनाको टोली समेत सुरक्षा मजबुतीका लागि परिचालित गरिएकाले सुरक्षा ब्यवस्थालाई ज्यादै विश्वासनीय बनाईएको प्रहरी प्रमुख बिद्यानन्द माझीले जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया