मेघराज तामाङ
संखुवासभा । मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको मिति नजिकिए संगै जिल्ला निर्वाचन कार्यालय संखुवासभा पनि मतगणनाको अन्तिम तयारीमा जुटेको छ ।

संखुवासभामा मतगणनाका लागी तयारी पुरा गरिएको कार्यालयले जनाएको छ । मतगणनाका लागी बुधबार सर्वदलिय बैठक समेत बसेको थियो । कार्यालयले निर्वाचन आयोगद्धारा निर्देशित नियमावली, ऐन तथा निर्देशिकामा उल्लेख गरिएका व्यवस्थाका बारेमा दल र दलका प्रतिनिधिहरुलाई जानकारी गराएको थियो । दलिय बैठकमा मत गणनाका लागी सुरक्षा व्यवस्था मजबुत गरि मतगणना स्थलमा तारजाली लगाएर तयारी पुरा गरिएको र मतगणना शुरु गर्न मात्र बाँकी रहेको मूख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए ।
प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक गरी ३ स्थानमा छुटाछुटै मतगणना गर्ने तयारी गरिएको छ । जिल्ला समन्वय समितिको ३ वटा कोठामा राखिएको मतपेटिका विहिवार साँझ ५ बजेबाट जिसस कै सभाहलमा गणना गरिने छ । मतको सुरक्षाका लागी मतगणना कर्मचारीलाई तारजाली भित्र र दलका प्रतिनिधिहरुलाई तारजाली बाहिर राखिने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

मतगणनाका लागी कर्मचारी तयारी रहेको र मतपेटीका राखिएको स्थानमा सिसि क्यामरा, सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाले कडा सुरक्षा दिइरहेका छन् । संखुवासभामा १ प्रतिनिधिसभा र २ प्रदेशसभाका लागी ६९ हजार १ सय जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया