झापा । झापामा निर्वाचनको तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा, मतदान सामाग्री र जनशक्तिको सम्पूर्ण काम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।

मतदाता शिक्षाका लागि मंसिर १ गतेदेखि नै निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवकहरुलाई परिचालन गरिएको थियो । आयोगबाट ६८ प्रकारका मतदान सामाग्रीहरु प्राप्त भइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख आचार्यले जानकारी दिए । झापामा ६ सय ९२ मतदान केन्द्र रहे पनि केही जगेडासमेत गरी सात सयभन्दा बढी मतदान केन्द्रका लागि सामाग्री व्यवस्थापन भइसकेको छ । आज साँझ सम्ममा सबै मतदान अधिकृतहरुले निर्वाचन सामाग्री बुझेर आ–आफना केन्द्रमा गईसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र केही जगेडासमेत गरी १ हजार ४ सय ५० जना कर्मचारी र शिक्षकहरुलाई प्रशिक्षण दिएर परिचालन गरिएको छ । ७ गाउँपालिका र ८ नगरपालिका गरी १५ स्थानीय तह रहेको झापामा २ लाख ८८ हजार ८ सय ४५ पुरुष, २ लाख ९६ हजार ३ सय १२ महिला र ९ जना तेस्रो लिङ्गी गरी ५ लाख ८५ हजार १ सय ६६ जना मतदाता छन् । प्रतिनिधिसभाका लागि ५ र प्रदेशसभाका लागि १० वटा निर्वाचन क्षेत्र रहेको झापामा १४१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया