संखुवासभाको विकट र हिमाली भेगमा रहेका मतदान केन्द्रको मत पेटीका मंगलबार सेनाको हेलिकप्टरबाट ल्याइएको छ । ती क्षेत्रका मतपेटिका हिजो ल्याउने तयारी गरिए पनि मौसम खरावका कारण ल्याउन नसकिएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लाको उत्तरी भोटखोला, मकालु र शिलिचोङ गाउँपालिकाका ९ मतदान केन्द्रको मतपेटिका ल्याइएको हो । किमाथांका, हटिया, लिङगम, थुदाम, चेपुवा, रिदाक, च्याम्ताङ, गौथला र याफू मतदान केन्द्रको मतपेटिका मतदान केन्द्रमा नै रोकिएको थियो । यातायातको असुविधाका कारण पैदल यात्राबाट ३ दिन भन्दा बढि लाग्ने भएकाले सुरक्षालाई मध्यनजर गर्दै हेलिकप्टरबाट मतपेटिका ल्याइएको हो ।
यसअघि सोमबार बेलुका सम्ममा १ सय ४४ मतदान केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारी ल्याइसकिएको थियो । सदरमुकाम आइपुगेको मतपेटीका जिल्ला समन्वय समितिको सभाहलमा उच्च सतर्कताकासाथ सुरक्षाको घेरामा राखिएको छ । आगामी मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचन पछि मात्र मतगणना गरिने छ ।

तपाईको प्रतिक्रिया