सुनसरी, मंसिर ११ । अघिल्लो वर्षको पुष्प मेलाको व्यापार सन्तोषजनक भए पछि हौसिएका पुर्वका पुष्प व्यवसायीहरुले यस वर्ष पनि पुष्प मेलाको आयोजना गर्दैछन् । गत वर्षको फागुनमा लगाईएको ३ दिने पुष्प मेलामा करिब ४० लाख रुपैयाको व्यापार भए पछि हौसिएका पुष्प व्यवसायीहरुले यस वर्ष ५ दिने मेला आयोजना गर्ने भएका हुन् ।
फ्लोरिकल्चर एसोसियसन नेपाल सुनसरीको आयोजनामा पुष ७ गते देखि ११ गते सम्म धरानमा आयोजना हुने पुष्प मेलामा १ करोड रुपैयाको व्यापार हुने आयोजकले अनुमान गरेको छ । ‘पोहोर अपसिजनमा त ४० लाखको कारोबार भयो, अहिले त मुख्य सिजन हो’, एसोसियसनका सचिव प्रेम पराजुलीले भने, ‘१ करोडको कारोबार हुने अनुमान गरिएको छ ।’
प्रदर्शनीमा प्रदेश १ को इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, मोरङ, झापा र सप्तरीका फूल व्यवसायीहरु ३० वटा स्टलहरु रहेनछन् । जसमा भवेना, मेरीगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायतका १ सय भन्दा बढी प्रजातिका फूलहरु राखिने छ । १० रुपैया देखि ३ लाख रुपैया सम्मका फूलहरुको कारोबार हुने सचिव पराजुलीले बताए । ८ लाख ५५ हजारको बजेटमा लाग्ने पुष्प मेलामा उत्कृष्ट स्टललाई पुरस्कृत गर्ने भएको छ ।
प्रर्दशनीमा विभिन्न प्रजातीका फुलहरु संगै मलखाँद, विउविजन, औजार पनि राखिने छ भने पुष्प व्यवसाय तथा कृषिका लागि परामर्श डेस्क पनि स्थापना गरिने पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया