इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्वर २ का प्रदेशसभा क्षेत्र क का स्वतन्त्र उम्मेदवार किशोरकुमार राईले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मिचाईमा नेपाली समाज पिल्सिर्दै आएकाले त्यसलाई चिर्नका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।
आफुले लामो समय भारतीय नेपाली सेना भएर काम गरेको अनुभव रहेको तथा नेपाली समाजलाई गहिरो ढङ्गले नियाल्दै नयाँ ढङ्गले नेपाली युवाहरुलाई राष्ट्र निर्माणमा सक्रिय गराउन सकिने ठोस योजना र कार्यक्रम रहेकाले आफुले त्यही योजनालाई कार्यान्वयन गर्नका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको घोषणा गरेका थिए ।
पत्रकार सम्मेलनमा उम्मेदवार राईले देशको समग्र आर्थिक परिवर्तनबाटमात्र समाज र देशले जनअपेक्षा गरे अनुरुपका परिवर्तन सम्भव भएकाले आफुले देशमा विद्यमान विकृति विसङ्गती र गलत कार्यलाई निरुत्साहित तुल्याउन नयाँ आर्थिक नीतिसँगै समाज परिवर्तनका नयाँ कार्यक्रम कार्यान्वयन गराउनका लागि पनि परम्पराबादी राजनीति विरुद्ध आफु चुनावी मैदानमा ओर्लिएको पनि स्पष्ट पारे ।
आफुसँगै नेपाल र भारतमा काम गरेका धेरै पुराना भूतपूवै सैनिक एवम प्रहरी अफिसर आदिको सहभागिता रहेकाले त्यसलाई सदुपयोग गर्दै देश बनाउने अभियानमा हाम्रो पनि सक्रिय सम्लग्नता जरुरी छ भन्ने प्रष्ट्याउनका लागि भूतपूर्वहरुको तर्फबाट उम्मेदवारी दिएको पनि उम्मेदवार किशोरकुमार राईले पत्रकार सम्मेलनमा बताए ।
उम्मेदवार राईले झुठो आश्वासन र गलत प्रतिस्पर्धामा आफुले कहिल्यै कदम नचाल्ने दावी समेत गर्नुहुँदै उम्मेदवार राईले न्यायपूर्ण समाजका लागि सम्पूर्ण भूतपूर्व सैनिक एवम प्रहरी परिवारको तर्फबाट आफुले प्रतिनिधित्वका लागि उम्मेदवारी दिएको र आफुले कुनै पनि राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न नखोजेको पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया