इटहरी ।चिसो र भिरोलो पहाडी जमिनमा सप्रिने अलैची भोजपुर जिल्लाका किसानका लागि आर्थिक जीवन सुदृढ पार्ने खेतीका रुपमा निकै लामो समयदेखि चर्चित छ । अलैची आफैमा औषधीका रुपमा प्रयोगमा आउने बस्तु हो । यसको खेती पछिल्लो समयमा ब्यवसायिक कृषि खेतीका रुपमा पनि किसानहरुले लिने गरेका छन । अलैची खेतीलाई नेपाल सरकारको कृषि मन्त्रालयले पनि विशेष कृषि कार्यक्रममा समेटेर हेर्दै आएको छ ।
स्थानीय बजारदेखि अन्तराष्ट्रिय बजारमा समेत निकै महत्वपूर्ण कृषि उत्पादनसँगै औषधीको कच्चा पद्धार्थका रुपमा समेत महत्वपूर्ण मानिदै आएको अलैची खेती किसानहरुको आम्दानी प्राप्तीका हिसावले पनि ज्यादै महत्वपूर्ण मानिन्छ । निकै महङ्गो मुल्यमा खरिद विक्री हुने अलैचीबाट राम्रो आम्दानी प्राप्त गर्न थालिएपछि पहाडी जिल्ला भोजपुर जिल्लाका धेरै किसानहरु यस खेती तर्फ आकर्षित बनिरहेका छन ।
लामो समयदेखि अलैची खेती गर्दे आउनु भएका भोजपुर आमचोक गाउँपालिका २ यूँ निवासी टीका विष्टले पन्ध्र बर्षअघि ३ रोपनीबाट अलैची खेती शुरु गरेर अहिले ६५ रोपनीमा सघन अलैची खेती गरिरहेका छन । अन्य कृषि बाली छाडेर अलैची खेतीतर्फ आकर्षिति भएका विष्टको आम्दानीको सम्पूर्ण स्रोत नै अलैची खेती बन्न पुगेको छ । अलैची खेतीको आम्दानीबाट किसान विष्टले अन्य ब्यापार ब्यवसाय पनि अलैची खेतीबाट प्राप्त हुने आम्दानीबाट चलाउँदै आएको पनि बताउनु भएको छ ।

छोरा छोरी समेत भएका विष्टले आफ्ना सवै सन्तानलाई त्यही अलैची खेतीबाट प्राप्त हुने आम्दानीबाट उच्च शिक्षा पढाउने ठूलो सफलता समेत प्राप्त गर्दै आएको बताउनुभएको छ ।
अलैची खेतीवाट बार्षिक रुपमा विष्टले आम्दानी गर्दै आएको सफलताका कथा पनि सुनाउनु भएको छ । उहाँले उन्नत ढङ्गले अलैची खेती गरेर उदाहरणीय कार्य गरे बापत नेपाल सरकारको तर्फवाट राष्ट्रपतिबाट प्राप्त हुने कृषक सम्मान पनि पाउनु भएको छ ।
अलैची खेतीको ब्यवसायिक कार्यमा समर्पित रहँदै आउनु भएको विष्टले खलैची खेतीका लागि हिउँदमा जमिन चिस्यान बनाई राख्नका लागि अलैची खेतीबाट प्राप्त आम्दानीबाटै विभिन्न क्षमताका पानी जम्मा पार्ने दुई वटा पक्की पोखरी समेत निर्माण गरिसकेको बताउनु भयो ।
स्थानीय बेरोजगार १० जना मानिसलाई समेत रोजगारी दिन सफल अलैची किसान विष्टले गाउँघरमा अलैची खेतीबाट गरेको लोभ लाग्दो सफलता देखेर अरु किसानहरु पनि उन्तत ढङ्गले आफ्नो स्वामित्वका जमिनमा अलैची खेतीतर्फ आकर्षित भएर लाग्न उत्प्रेरित भएका छन ।
आमचोक गाउँपालिकामात्र नभएर पछिल्लो समयमा आएर भोजपुर जिल्लाको अन्य स्थानहरुमा पनि किसानहरुले सघन रुपमा अलैची खेती गर्न थालेका छन । अर्थात भोजपुरका धेरै किसानहरुको आम्दानीको मुल स्रोत नै अहिले अलैची खेती बन्न पुगेको जिल्ला कृषि विकास कार्यालयको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया