भोटराज राई
उदयपुर, कात्तिक १४ गते ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा सोमबार भएको सुमो जीप दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठका अनुसार सनाखत भएका मृतकहरुमा ओखलढुंगा विसंखुगडी गाउँपालिका ७ का अन्दाजी ३२ बर्षिय इश्वर भट्टराई, सोही ठाउँकी अन्दाजी २४ बर्षिया अन्जना राई, सोही जिल्लाको बरुणेश्वर गाउपालिका ७ का १९ बर्षिय दिपक भित्रीकोटी, ओखलढुंगामा नेपाली सेनामा कार्यरत सप्तरी बैखा ६ का २५ बर्षिय रुपेन्द्र बर्मा, सोही जिल्लाको कबलासी ३ बस्ने गंगाराम साह, सोही जिल्ला पत्थरगाडा ४ का ३५ बर्षिय राधेश्याम महतो, सप्तरीकै मिथिलेस साह, उदयपुरको बेलका नगरपालिका ३ का अन्दाजी २० बर्षिय सन्देश किराती राई र कटारी नगरपालिका २ का चालक हरि कार्की रहेका छन् । दुर्घटनामा गम्भिर घाइते ओखलढुंगाको बरुणेश्वर गाउपालिका ७ का १८ बर्षिया कुमारी भित्रीकोटीको केएमसी हस्पिटल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डिएसपी श्रेष्ठका अनुसार दुर्घटनाको क्रममा भिरको बुट्टामा अल्झिएर बचेकी ओखलढुंगाकी ३ बर्षिय बालिका क्रिस्टिना राईलाई बुबाको जिम्मा दिइएको छ । उनी मृतक अन्जना राईकी छोरी हुन् ।
कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिका – ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
मृतक सबैको सब कटारी हस्पिटलमा ल्याईएको र आज पोष्टमार्टम भईरहेको जनाइएको छ । पोष्टमार्टमपछि सम्पर्कमा आएका आफन्तजनलाई सब जिम्मा दिइने प्रहरीले जनाएको छ । घाइते तथा मृतकको हिजो राती अबेरसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धार गरेका थिए ।
भिरालो सडकमा जीपको ब्रेक र स्टेरिङ फेल भएर दुर्घटना भएको बुझिएको कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताउनुभयो । सुमो सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको जनाइएको छ ।
उक्त राजमार्गमा सडक भिरालो, साँघुरो र घुमाउरोका साथै भत्किएर नाजुक अवस्था रहेका स्थानीयले बताए ।

 

तपाईको प्रतिक्रिया