झापा । झापाको विर्तामोडमा कर्फ्युको समयमा प्रहरीको गोली लागी एकजनाको मृत्यु भएको छ । बिहानदेखि तनाव रहेको विर्तामोडमा स्थिति समान्य बनाउन जिल्ला प्रशासनले शुक्रबार दिउँसो देखि अनिश्चितकालका लागि लगाएको कर्फ्युमा अर्जुनधारा नगरपालिका-११ का नवराज (राजेश) थापाको मृत्यु भएको हो । बालक हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा स्थानिय तथा प्रहरीबिच झडप भएकाे छ । ११ वर्षीया बालक लक्ष्मण शिवाकोटीको हत्याकाे बिषयमा प्रहरीकाे अनुसन्धान फितलो भएको भन्दै स्थानियहरूले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरको हाे । जुलुसमा प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ ।
शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यु जारी गरिएको उनले बताए ।
अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।
दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए ।
प्रहरीले ३६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्याललयले अहिले राजनैतिक दल र पीडित परिवार राखेर वार्ता गरिरहेको छ ।
यसैगरी बिहान भएको प्रदर्शनमा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय तोडफोडको प्रयास गरेका थिए । उनीहरुले प्रहरी कार्यालय तोडफोड गर्न नसकेपछि नजिकै रहेको सडक विभागको स्काभेटर तोडफोड गरेका थिए ।