इटहरी, ५ कार्तिक  । हरेक शहर जीवन्त बन्नका लागि प्रयाप्त पूर्वाधारका रुपमा आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, सुरक्षा, बित्तीय संस्था, उद्योग, ब्यापारिक प्रतिष्ठान, खेलकुद मैदान, सडक सञ्जाल लगायतको भौतिक पूर्वाधार हुनु आवश्यक पर्दछ । साथै आन्तरिक र बाह्य पर्यटनका लागि समेत आवश्यक थप पूर्वाधारहरु बन्नु नै शहर सम्पन्नताको सुन्दरता हो । प्राय यी सवै भौतिक पूर्वाधारका लागि इटहरीवासीले आफ्नै सक्रियतामा खर्बौको लगानी गरेर छोटो अवधिमा ती पूर्वाधारका संरचनाहरु पुरा गरि सकेका छन । केही सरकारी संरचना बाहेक अधिकाङ्स पूर्वाधारका संरचनाहरु नीजि लगानीमा बनाईएका छन ।

राज्यको दुरदृष्टि नपरे पनि इटहरीको भौगोलिकता र परिस्थितिजन्य  बाध्यात्मक अवस्थाले इटहरी आफैमा सुन्दर सफा एवम हरियाली शान्त शहरको आकार ग्रहण गर्दै पूर्वी नेपालकै मध्य भागमा विकसित भई रहेको छ । ठूल–ठूला आन्दोलन चल्दा पनि शान्तिपूर्वक ढङ्गले विकासको गतिमा निरन्तर अघि बढिरहेकाले पनि यो शहर उत्तरतिरको साँघुरो आदिवासी बाहुल्य शहर धरान एवम दक्षिणतिरको पुरानो तर बेथितिमय शहर विराटनगरलाई उछिन्दै समृद्ध शहरका रुपमा विकास भई रहेको शहर हो इटहरी । प्रजातन्त्रबादी र बामपन्थी राजनीतिक दलका शिर्षस्थ नेतादेखि पञ्चायतकालिन मुर्धन्ने नेताहरुले समेत नेतृत्व गरेका इटहरी दक्षिणतिरको पुरानो शहर विराटनगर अनि उत्तरतिरको धरान र पञ्चायतकालिन अवस्थादेखि नै पूर्वाञ्चल विकास क्षेत्रका रुपमा रहेको धनकुटालाई विकास आवागमन एवम मानव संशाधन विकासका सूचकाङ्कका आधारमा निकै उकालो चढिरहेको इटहरी अव सवैको आकर्षणका केन्द्र बन्नुको धेरै कारणमध्ये सवैभन्दा ठूलो विषय शान्ति सुरक्षा नै बन्न पुगेको कुरालाई कसैले नकार्न मिल्दैन । नेपालको राजनीतिक परिवर्तनको इतिहाँसमा भएका आन्दोलनहरुमा अत्यन्तै सालिनतापूर्वक आन्दोलनमा पनि सक्रिय यो शहरले माओवादी जनयुद्ध होस वा मधेश आन्दोलन त आदिवासी जनजाती आन्दोलनदेखि लिम्वुवान एवम खम्वुवान आन्दोलनलाई पनि शान्तपूर्वक सालिन ढङ्गले साथ दिँदै पूर्वी नेपालकै सालिन आन्दोलन हाँक्ने शहरका रुपमा पनि इटहरीले इमान्दार इतिहाँस बनाएको छ । जसका कारणले कहिल्यै इटहरीले जोखिमको आन्दोलन खेप्नु नपरेकाले यसले हरेक क्षेत्रमा समृद्ध बन्नका लागि सवैको साथ र सहयोग पाई नै रह्यो । जसको कारणले अहिले पनि इटहरीले कसैसँगै हात नपसारी निरन्तर अघि बढिरहँदा हरेक अवसरहरु आफै आई रहेको यसले अनुभूति गरिरहेको छ । नेपालको शैक्षिक इतिहाँसमा लामो समयदेखि स्थापित भईसकेका विराटनगर धरान र धनकुटालाई विस्तारै उछिन्दै शैक्षिक हव बन्दै गई रहेको इटहरीले प्राविधिक शिक्षाका केही विषय बाहेक अन्य सवै प्रकारका शैक्षिक विषयहरुलाई आफ्नो स्थानमा किशोर किशोरीहरुको आवश्यकता र चाहाना मुताविकको पठन पाठनको सवै सुविधाहरु उपलब्ध गराउने कार्यमा पनि इटहरीले अग्रणी स्थान ओगट्दै अघि बढिरहेको छ । घरबाट निक्लेको आधा घण्टामा विमानस्थल र ठूला अस्पतालको सेवा प्राप्त गर्न सक्ने भौगोलिक सुविधा समेत प्राप्त गरिरहेको इटहरीले अवको १० बर्षमा पूर्वको सवैभन्दा विशाल शहरको पहिचान बनाउन सक्ने सम्भावना बोकेको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालयदेखि शसस्त्र प्रहरी बलको पूर्वाञ्चल मुख्यालय बाहिनी पकली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल इकाई कार्यालयले इटहरीमा नै कार्यालय भवन निर्माण गर्नु अनि दङ्ग्रा नियन्त्रण प्रहरीको समेत गण इटहरीसँगै जोडिएको सिमरियामा हुनुले पनि इटहरी शान्ति सुरक्षाका दृष्टिकोणले पूर्वमा नै सवैभन्दा मजबुत स्थानका रुपमा विकास भई सकेको शहर हो । अर्को तर्फ एउटा समृद्ध र जीवन्त शहर बन्नका लागि बित्तीय संस्था अर्थात बैङ्कहरुको उपस्थितिले पनि निकै प्रभाव पार्ने भएकाले नेपालका क बर्गका कुल बैङ्कमध्ये झण्डै सतप्रतिसत ती क बर्गका बैङ्कहरुका शाखा इटहरीमा सञ्चालनमा रहनुले पनि इटहरी आफैमा एउटा समृद्ध शहर भन्न जो कोहीलाई कर नै लाग्ने अवस्थामा रुपान्तरण भई सकेको छ । विकास बैङ्क, फाईनान्स र ठूला सहकारी संस्थाहरुसँगै आर्थिक क्रियकलापमा अग्रणी भूमिका खेल्दै आएका अन्य वित्तीय कारोवार गर्ने निकायहरु बाहेक नेपालको क बर्गका बैङ्कका रुपमा रहेका राष्ट्रिय बाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क, माछापुच्छ«े बैङ्क, नविल बैङ्क, प्रभु बैङ्क, हिमालयन बैङ्क, सिटिजन बैङ्क, सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, नेपाल बङ्गलादेश बैङ्कका शाखाहरु इटहरी उपमहानगरको शहरभित्र उत्साहजनक ढङ्गले सञ्चालनमा रहेका छन । ती बैङ्कहरुसँगै काठमाण्डौमा केन्द्रिय कार्यालय रहेका बैङ्कहरुमध्ये क बर्गमा रहेका जनता बैङ्क, बैङ्क अफ काठमाण्डौ लुम्बिनी, एभरेष्ट बैङ्क, एनआईसी एशिया बैङ्क,  कुमारी बैङ्क,  सेन्च्युरी बैङ्क, एनसीसी बैङ्क, सिभिल बैङ्क,  एनएमबी बैङ्क, सानिमा बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, प्राईम बैङ्क, एसवीआई बैङ्क, ग्लोबल आईएमई बैङ्क र सहकारी बैङ्क (मेघा र स्टाण्डर्ड चार्टर बैङ्क बाहेक) सवै बैङ्कले इटहरीमा शाखा सञ्चालनमा ल्याएका छन । यस बाहेक इटहरीमा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, आन्तरिक कर कार्यालयको करदाता सेवा कार्यालय, राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाई कार्यालय, कृषि मन्त्रालय अन्तर्गतका कृषि अनुसन्धानका विशेष कार्यक्रम राष्ट्रिय भैसी तथा जुट अनुसन्धान मत्स्य, बागबानी, बङ्गुर लगायतका महत्वपूर्ण अनुसन्धान कार्यालय समेत इटहरीमा नै सक्रिय हुनुले पनि इटहरीको महत्व अरु उजागर बन्दै गई रहेका छन । क्षेत्रीय र राष्ट्रिय स्तरका खेल मैदानका लागि आवशयक पूर्वाधार तयार हुनुले पनि त्यो सन्देश अझ फराकिलो बन्दैछ ।त्यस्तै निर्जीवन बीमा तथा जीवन बीमाका साथै शेयर बजारका दलाल कार्यालयहरु इटहरीमा नै स्थापना भर्ई सञ्चालनमा रहनु र बैदेशिक रोजगार सम्वन्धि कारोवार गर्ने कम्पनीका झण्डै तीन दर्जनबढि मेनपावर कम्पनी पनि यही सक्रिय हुनु अनि पूर्वी नेपालकै सवैभन्दा बढि थोक बिक्रेताहरुको रहेको शहरका रुपमा पनि इटहरीमा ब्यापारिक कारोवार झाँगिनुले इटहरीप्रति सवैको आकर्षणको केन्द्र बनिरहेको छ । यातायात आवागमनका दृष्टिकोणले समेत केन्द्रका रुपमा विकास भएको इटहरी प्रत्यक मानव जीवनको आवश्यकताहरु पुरा गर्ने केन्द्र बनिरहेकाले पनि इटहरी भोलिका दिनमा मेघा शहर बन्नबाट कसैले रोक्न सक्ने देखिदैन ।यहाँ सञ्चालनमा रहेका होटल रेष्टुरा पार्टी प्यालेस सभा सेमिनार हलहरु तथा राष्ट्रिय पौडी खेल सञ्चालन हुने ओसियन पार्कदेखि तालतलैया अनि इटहरीको नजिकै रहेका हिन्दु धार्मिक तीर्थस्थल बराहक्षेत्र रामधुनी विष्णुपादुका ऋाद्धतीर्थस्थल दक्षिणमा रहेका बर्जुताल तथा सिधै उत्तरमा रहेको बुढासुब्बा दन्तकाली प्राचीन हरिद्धार रुद्राक्षाराण्य पीण्डेश्वर आदिका कारणले पनि इटहरी धार्मिक पर्यटनसँग जोडिएका स्थानसँग सोझो सम्पर्क रहेको केन्द्र भागका रुपमा परिचित छ । देशभरका शैक्षिक भ्रमणकर्ताहरुको बसोवासका लागि रुचाईएका स्थानका रुपमा पनि देशभर परिचित स्थान इटहरी बन्न गएको पाईएको छ ।

तपाईको प्रतिक्रिया