इटहरी, ७ असोज , देशभरमा चालीस हजार राहत शिक्षकहरु पेशाप्रति इमान्दार भएर शैक्षिक क्षेत्रमा सेवारत रहेको र राज्यले राहत शिक्षकहरुका विषयमा कहिल्यै सकारात्मक र ठोस नीति र योजना नल्याएकोप्रति इटहरीमा सम्पन्न नेपाल राहत शिक्षकको प्रथम अधिवेशनले आपत्ती जनाएको छ ।
पूर्वाञ्चलमा मात्र दश हजार राहत शिक्षकहरु क्रियाशील रहेको र राज्यले शैक्षिक प्रतिष्ठानहरुमा कार्यरत राहत शिक्षकहरुको पक्षमा कहिल्यै सकारात्मक भएर समस्याहरु समाधान गर्नेतिर सरकारले अभिभावक बनेर नहेरेकाले राहत शिक्षकहरुले जहिल्यै राज्यप्रति आशाको दृष्टिकोणलेमात्र हेरिरहनु परेको गुनासो पनि भेलाले निष्कर्ष निकालेको छ ।
प्रदेश नम्वर १ को विभिन्न जिल्लाका शैक्षिक प्रतिष्ठानहरुमा क्रियाशील राहत शिक्षकहरुको इटहरीमा सम्पन्न प्रथम अधिवेशन समारोहपछि आज विहान सम्पन्न भएको अधिवेशनले गुरुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ प्रदेश समितिको चयन समेत गरेको छ ।
उन्नाईस सदस्यीय प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा विवेक उप्रेती उपाध्यक्षमा केशवप्रसाद पोख्रेल महासचिवमा पोज रहिम उपमहासचिवमा प्रार्थना त्रिताल र कोषाध्यक्षमा रामजी दाहाल र प्रदेश सञ्चार प्रवक्तामा देवीप्रसाद ढुङ्गेल चयन हुनु भएको छ ।
इटहरीमा आज सम्पन्न प्रदेश अधिवेशनले देशभर क्रियाशील राहत शिक्षकहरुलाई साधारण दरबन्दीमा रुपान्तरण गरी जिल्लान्तर सरुवा सुविधा उपलब्ध गराउनु पर्ने तथा स्वत स्थायी गर्दै पोशाक र दुर्गमभत्ता उपलब्ध गरिनु पर्ने लगायतका निर्णयहरु गर्दै सरकार समक्ष तत्काल राहत शिक्षकहरुले उठाएको सकारात्मक माँगहरुप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको बताईएको छ ।
हेमचन्द्र भण्डारीका अध्यक्षतामा सम्पन्न प्रदेश अधिवेशन भेलामा केन्द्रिय अध्यक्ष गोकुल रोकायाले अधिवेशन समारोहका उद्घाटन गर्नुभएको थियो । सो अवसरमा केन्द्रिय अध्यक्ष भण्डारी, केन्द्रिय सह अध्यक्ष नविनसिँह धामी अर्का केन्द्रिय सह अध्यक्ष बीरेन्द्र मल्ल, केन्द्रिय महासचिव विश्वेश्वर खनाल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया