सुनसरी । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी कर्मचारीहरुको आन्दोलन झन चर्कदै गएको छ । १३ दिन देखि धर्नामा रहेका कर्मचारीहरुको आन्दोलन गुण्डा प्रयोग गरि दबाउन खोजेको भन्दै उपकुलपतीको राजिनामाको माग गरेका छन् ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ दिन देखि धर्नामा रहेका कर्मचारीले प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दी गुण्डा प्रयोग गरि फुटाउन खोजेको भन्दै कर्मचारीले आन्दोलन झन चर्काएका छन् । शान्तिपुर्ण रुपमा आन्दोलनमा रहेका कर्मचारीहरुलाई वार्तामा बस्नुको साटो बाहिरी मानिसको हस्तक्षेप बढे पछि आन्दोलन भड्किदै गएको छ ।
कर्मचारीले लगाएको ताला प्रतिष्ठान बाहिरबाट गएकाहरुले फुटाए पछि प्रतिष्ठान तनावग्रस्त बनेको थियो । धरान उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष सहितको टोलिले ताला फुटाउने भन्दै प्रतिष्ठान भित्र पुगे पछि अझै घम्साघम्सी भएको थियो । वार्ता गर्नुको साटो गुण्डागर्दी शैलीमा उत्रिएका उपकुलपतीले राजिनामा दिनुपर्ने कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोलेले बताउनुभयो ।
प्रतिष्ठानमा बढ्दै गएको बेथिती अन्त्य गर्न भन्दै विभिन्न समुहहरुले दबाब दिदै आएका छन् । नेपाली कांग्रेसका दुई नेताहरुले नेतृत्व गरेको दुई खेमाका कर्मचारी समाजसंग निकट रहेका समुहहरुले हस्तक्षेप गर्दै आएका छन् । बाहिरी हस्तक्षेप रोक्न सकिएन भने प्रतिष्ठानको भविष्य अन्धकारमा रहेको रजिष्टार तुल बहादुर श्रेष्ठको भनाई छ ।
उच्च स्तरिय तलबमान आयोगको प्रतिवेदन खारेज गर्नु पर्ने सहित प्रतिष्ठानमा बढ्दै गएको भ्रष्टाचार अन्त्य लगायतका कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै उनीहरु आन्दोलनमा छन् ।

तपाईको प्रतिक्रिया