सुनसरी, ३० भदौ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एक पक्षीय बजेट ल्याउन लागेको भन्दै नेपाली काङ्ग्रेस इटहरी नगरकमिटीले इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । इटहरीमा आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली काङ्ग्रेस इटहरी नगरकमिटीले इटहरी उपमहानगरपालिकालाई पाँचबँुदे सुझाव सहित ध्यानाकर्षण गराएको हो । इटहरी काङ्ग्रेसलले जारी गरेको प्रेस विज्ञप्तीमा हरेक वडालाई अझ बढी विकसित एवं आत्मनिर्भर बनाउन वडा स्तरीय बजेटको सिलिङ बृद्धि गर्नु पर्ने, लक्षित समुदायको रकम विगतमा धेरै दुरुपयोग भएकाले उक्त रकमलाई प्रत्येक वार्डमा नै पठाई वार्ड स्तरीय कार्यक्रमका आधारमा वितरण गरी वास्तविक लक्षित समुदायको हकहितमा खर्च गर्नुपर्ने, हाल इटहरीस्थित बाढी पीडितहरुको उचित व्यवस्थापन एवं आवश्यक क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । त्यस्तै सार्वजनिक शौचालय निर्माण र सडक विभाग अन्तरगतका मुख्य सड्क एवं भित्री सडकहरुको खाल्डाखुल्डी पुरी अविलम्ब सडक मर्मत गर्नुपर्ने र निर्माणाधीन टेङ्ग्राखोला पुलको शीघ्र काम सुचारु गरी आवतजावत सहज गर्नुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा इटहरी काङ्ग्रेसका सभापाति हेमकर्ण पौडेलले जनताको घरदैलोमा सिहंदरबार आएको अनुभूति गराउने बेलामा मेयरले आसन्न निर्वाचनहरुलाई प्रभावित हुने गरी बजेट ल्याउन खोजेको आरोप लगाउँदै विधि सम्मत काम गर्नुपर्ने बताए । हरेक वडाको बजेटलाई आफू अन्तरगत केन्द्रीकृत गरी जनतालाई बास्तविक लोकतन्त्रको न्यूतम अनुभूति समेत नहुने गरी मेयरले चलखेल गर्न खोजेकाले समयमा नै सचेत गराउनु पर्ने भन्दै सभापति पौडेलले जनताको कुरा नसुने अझ सशक्त भएर अगाडि बढ्न इटहरी काङ्ग्रेस तयार रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया