इटहरी । सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता दीपकराज गिरीले छक्का पञ्जा २, यसअघिको फिल्म छक्का पञ्जाजस्तो नभएको बताएका छन् । चलचित्र असोज ११ गते रिलिज हुँदैछ । सोही सेरोफेरोमा रिलिज हुने भनिएको चलचित्र मंगलम पछि सरेपछि अहिले दशैमा रिलिज हुने छक्का पञ्जा २ एक्लो फिल्म बनेको छ । गिरीले भने, ‘ छक्का पञ्जा सोचेर जानेहरुको लागि छक्का पञ्जा २ पहिलाकै जस्तो राम्रो नलाग्न सक्छ, तर चलचित्र समग्रमा राम्रो बनेको छ ।’गिरीले आफूहरुलाई असफल बनाउन खुट्टा तान्नेहरुले कहिले गीतमा विवाद झिकाइदिने र कहिले अर्को चलचित्रसँग जुधाइदिने गरेको आरोप समेत लगाएका छन ।
गिरीले छक्का पञ्जाको पाइरेसीलाई लिएर युवाले आत्महत्या गरेको विषयमा आफूहरु दोषी नरहेको र उनले पाइरेसी भएको पुष्टि भएपछि आफूहरुले सार्वजनिक गरेको बताउँदै युवाको आत्मविश्वास नभएका कारण उनले आत्महत्या गरेको बताएका छन । ‘छक्का–पञ्जा २’ ‘छक्का–पञ्जा’ चलचित्रको विषय बस्तुमा नबनेको उनले स्पष्ट पारे । उनले भने,‘ नामका रुपमा सिक्वेल भएपनि विषय बस्तुमा फरक छ, तर कहिँ कहिँ चाहिँ छक्का–पञ्जाको झल्को आउँछ । प्रत्रकार सम्मेलनमा गायक जितु नेपाल, दिपक राज गिरी दिपा श्री निरौला , केदार घिमिरे वर्षा राउत प्रियंका कार्की र लगायतको उपस्थीति रहेको थियो । चलचित्रको कलाकार तथा निर्माण टोली यतिखेर चलचित्र प्रचार प्रसारको लागि पूर्वमा छ ।

तपाईको प्रतिक्रिया