इटहरी, २८ भदौ । थारु समुदायका चेलिबेटीहरुले आज विहानैदेखि निरहार बसेर नदी पोखरी तलाउँ र जलासयमा स्नान गरी भक्तिपूर्वक जितिया पर्व धुमधामसँग मनाएका छन । थारु समुदायको सघन बसोवास रहेको सुनसरी जिल्लाको विभिन्न स्थानहरुमा थारु महिलाहरु आफ्नो जातीय भेषभूषामा सजिएर सार्वजनिक समारोहको आयोजना गरेर भगवान जितमानको भक्तिपूर्वक पूजापाठ गर्दै आफ्नो सन्तान र श्रीमानको सुख समृद्धि प्रगतिको कामना गरेका छन । हिजो तलाउ पोखरी नदी जलासयमा साँझपख भेला भएर थारु महिलाहरुले निष्ठापूर्वक स्नान गरी जितमान भगवान एवम सूर्य भगवानका अस्ताउँदो बेलाम अर्घ चढाई आफ्नो जातीय परम्परा अनुसारका फलफूल पकवान  आदि परिकार सेवन गरि आफ्ना कुल कुटुम्ब नर नाता र छोरी चलिबेटी मिलेर पर्वलाई धुमधामसँग मनाए । जितियाको दोस्रो दिन आज विहानैदेखि निरहार बसेर पानी समेत ननिलि उपवास बस्ने जातीय परम्परा अनुसार सवै थारु महिलाहरु उपबाससँगै आफ्नो जातीय प्रचलन अनुसारका झाँकी भेषभूषा र रितिरिवाज बमोजिमको सास्कृतिक समारोहहरुमा समेत उत्साहकासाथ सहभागि भई रहेका पाईएका छन ।

यही क्रममा उपप्रधानमन्त्री एवम सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले थारु महिलासभा रामधुनी झुम्काले आयोजना गरेको जितिया विशेष सांस्कृतिक कार्यक्रममा सहभागि भएर थारु समुदायको जितिया धार्मिक पर्वलाई विशेष उल्लासमय तुल्याउनु भएको छ । उपप्रधानमन्त्री गच्छदारले उक्त समारोहमा थारु समुदायले मनाउँदै आएको प्राचीन धार्मिक पर्वमध्ये जितिया अन्यन्तै निष्ठाको धर्म भएकाले यसलाई थारु समुदायले विशेष अभिरुचि र चासोकासाथ मनाउने गरेकोमा खुशी प्रकट गर्नुभयो । देशको तराई भू–भागमा बसोवास गर्दै आएका थारु समुदायले दुई दिनदेखि जीतिया पर्वलाई उल्लासमय तुल्याउँदै आफ्नो जातीय पहिचान र संस्कृतिप्रति अगाध स्नेह दिएकोप्रति पनि उहाँले खुशी ब्यक्त गर्नुभयो । सोही अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले थारु समुदायका महिलाहरुको अस्था निष्ठा र आफ्नो परिवारप्रतिको समर्पणको प्रतिकका रुपमा रहेको जितिया पर्व थारु जातीको महत्वपूर्ण पहिचान भएकाले यसको जगेर्नामा सवै जुट्नु पर्दछ भन्नुभयो ।

रामधुनीको झुम्का बजारमा आयोजित कार्यक्रममा थारु नेताहरु रामराज चौधरी तेजनारायण चौधरी चन्द्रकुमार चौधरी थारु महिलासभाकी सुनसरी अध्यक्ष सुशिला चौधरी रामनारायण चौधरी मनेश चौधरी रामनारायण चौधरी,जानकी चौधरी लगायतले थारु संस्कृतिमध्येको सवैभन्दा निष्ठाको पर्व नै जितमान भएको कुरामा जोड दिनु भएको थियो । थारु महिलासभा रामधुनी भासीकी अध्यक्ष सीता चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा थारु समुदायका धुमरा लगायतका जातीय पहिचान झल्कने विभिन्न  नृत्य एवम सांस्कृतिक झाकी आदि प्रस्तुत गरिएको थियो । साथै इटहरी आसपासका क्षेत्रका थारु महिलाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर खोला नदी पोखरी र तलाउहरुमा भेला भएर जितिया पर्व निष्ठापूर्वक मनाई रहेका छन ।

तपाईको प्रतिक्रिया