रामकृष्ण ढकालदेखि अन्जु पन्तसम्मका गुरु चन्दनकुमार
नेपालका अधिकांश गायक–गायिकाले चन्दनकुमार श्रेष्ठसँग संगीतको ज्ञान लिएका छन् । चन्दनकुमारसँग अन्जु पन्त, आनन्द कार्की, रामकृष्ण ढकालसम्मले संगीतको ज्ञान लिएका थिए । उसो त सुरुवाती समयमा अन्जुले कृष्णमान डंगोलसँग संगीत सिकेकी थिइन् । चन्दनकुमारसँग रामचन्द्र काफ्लेले ६ वर्षसम्म ज्ञान लिए । शिव परिवारले पनि सुरुमा चन्दनकुमार श्रेष्ठसँगै ज्ञान लिएका थिए । वसन्त सापकोटा, चेतन सापकोटा, हरि लम्साल, सिन्धु मल्लदेखि, माण्डवी त्रिपाठीसम्मका गायक–गायिकले चन्दनकुमार श्रेष्ठसँगै संगीत सिके । लाइट गायकका गुरु चण्डीप्रसाद काफ्लेले समेत ०५२ देखि ६४ सम्म चन्दनकुमारसँगै संगीतको ज्ञान लिएका थिए । चण्डीप्रसादले पनि चन्दनकुमारलाई गुरु नै मान्छन् । चन्दनकुमार भन्छन्, ‘मेरा डेढ सय स्टुडेन्ट नेपालका संगीत, गायन, स्कुलमा राज गरेर बसेका छन् ।’

उसो त चन्दनकुमार आफूसँग संगीत सिकेका गायकहरूबारे खुल्दैनन् । भन्छन्, ‘त्यो हामीले भन्ने कुरा होइन, उहाँहरूले नै भन्ने हो । लाइट गायन र शास्त्रीय संगीत धेरै फरक कुरा हुन् । मैले शास्त्रीय संगीत सिकाउने हो ।’ गोरखाका ५६ वर्षीय चन्दनकुमारले २२ वर्षदेखि काठमाडौंमा संगीत सिकाउँदै आएका छन् । भन्छन्, ‘म व्यक्ति सेलेक्ट गरेर मात्र सिकाउँछु । पूरै अनुशासन र संस्कारमा हुन्छ हाम्रो क्लास ।’ अहिले उनीसँग करिब ७० जना विद्यार्थी छन् । भारतको दिल्लीमा आठ वर्ष संगीत सिकेर नेपाल फर्किएका चन्दनकुमार नेपालमा वास्तविक शास्त्रीय संगीत सुरु नै नभएको तर्क गर्छन् । भन्छन्, ‘अहिलेसम्म नेपालमा एउटा राम्रो नोटेसन लेख्ने मान्छेसम्म छैनन् ।’

प्रमोददेखि कालीप्रसादसम्मका गुरु गुरुदेव कामत
गुरुदेव कामत नेपाली शास्त्रीय संगीत क्षेत्रको निकै ओझिलो नाम हो । उनले विगत तीन दशकदेखि शास्त्रीय संगीतको ज्ञान बाँड्दै आएका छन् । उसो त उनी ६ वर्षको उमेरदेखि नै आफ्नो दाइसँग संगीत सिकेको बताउँछन् । तर, औपचारिक संगीत भने ११ वर्षको उमेरमा भारत गएर लिए । उनले भारतको कोलकाता, पटनालगायतको ठाउँमा बसेर दुई दशकसम्म शास्त्रीय संगीतको क्लास लिएका थिए । यही भदौको १७ गते ६४औँ जन्मोत्सव मनाउन लागेका गुरुदेव अहिले पनि बिहान तीन बजे उठेर ६ बजेसम्म अभ्यास गर्छन् र ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थीसँगै हुन्छन् । नेपालका थुप्रै चर्चित गायक–गायिका उत्पादन गरेका गुरुदेवले हजारौँ शिक्षालाई संगीतको ज्ञान बाँडिसकेका छन् ।
कलानिधि महाविद्यालयका पहिलो संगीत गुरु गुरुदेवले प्रमोद खरेलदेखि अहिलेका हिट कम्पोजर तथा गायक कालीप्रसाद बास्कोटासम्मलाई संगीत सिकाए । उनीसँग प्रमोद खरेलले सात वर्षसम्म संगीत सिकेका थिए । सुरुको एक वर्षसम्म प्रवीण बराइलीसँग संगीत सिकेका प्रमोद पछि गुरुदेवको शरणमा पुगेका थिए । अहिले पनि समय हुँदा गुरुकहाँ गइरहने प्रमोद बताउँछन् ।
इन्दिरा जोशी, मनोजराज, शर्मिला बर्देवा, प्राश्ना शाक्य, भानुभक्तलाई पनि उनैले संगीतको प्रशिक्षण दिएका हुन् । दीपक लिम्बू, सन्तोष लामा, लोचन भट्टराई, प्रविशा अधिकारी, रेजिना रिमाललगायतका गायक पनि उनकै विद्यार्थी हुन् । गुरुदेवले विगत १६ वर्षदेखि गुरुकुल संगीत पाठशाला नामक आफ्नै स्कुल खोलेर संगीत पढाइरहेका छन् ।

शिव र राजका गुरु चण्डीप्रसाद
चण्डीप्रसाद काफ्लेले विगत १४ वर्षदेखि संगीतको औपचारिक ज्ञान दिँदै आएका छन् । अहिलेसम्म कति जनालाई संगीत सिकाए भन्ने हेक्का उनैलाई छैन । तर, उनका शिष्य शिव परियारदेखि राज सिग्देलसम्म छन् । शिव गजल तथा आधुनिक गायनमा निकै अब्बल मानिन्छन् । परियार अहिले पनि फुर्सद हुँदा चण्डीप्रसादसँग क्लास लिन पुग्छन् । सिमसिमे पानीमा गीत गाएर निकै हिट बनेकी गायिका रेखा शाहसमेत चण्डीप्रसादसँग संगीत सिक्दै छिन् ।
शिव परियारले पनि चण्डीप्रसादसँग संगीत सिक्न थालेको १४ वर्ष भइसकेको छ । राज सिग्देलले आठ वर्षसम्म चण्डीप्रसादसँग औपचारिक ज्ञान लिएको बताउँछन् । यी दुई गायकलाई चण्डीप्रसादले निकै मिहिनेती गायकको रूपमा हेर्छन् । चण्डीले भने, ‘शिव परियारले यति साधना गथ्र्यो कि खानपान नमिलेर उसलाई जन्डिस नै भएको थियो ।’ शिव र राज चण्डीप्रसादलाई नै गुरु मान्छन् । यी दुई गायक मात्र होइन, चण्डीप्रसादले जुनु रिजाल, सलिना श्रेष्ठ, प्रमोद खरेललगायतमा पनि संगीतको ज्ञान भरेका छन् । चण्डीप्रसादसँग अहिले पनि करिब डेढ सय विद्यार्थी छन् ।
नवलपरासीका ४६ वर्षीय चण्डीप्रसादले श्री संगीत पाठशालामार्फत गायक–गायिका बन्न चाहने हजारौँलाई संगीत सिकाइरहेका छन् । तर, सिकेर अब्बल बनेका भने २५–३० जना मात्र रहेको बताउँछन् । चण्डीप्रसाद स्वयं भने चन्दनकुमारलाई गुरु मान्छन् । उनले ललितकला क्याम्पसबाट संगीतमा ब्याचलर पनि गरेका थिए । चण्डीप्रसाद भोला जोशीबाट पनि संगीतको ज्ञान लिएको बताउँछन् । भन्छन्, ‘मैले शास्त्रीय ज्ञान लिने समयमा कम्तीमा १३–१४ घन्टा अभ्यास गर्ने गरेको छु ।’ उनी आफूहरूलाई बाहिरी चर्चाको खासै मतलब नहुने र शास्त्रीय संगीतमा छुट्टै प्रकारको आनन्द मिल्ने बताउँछन् । भन्छन्, ‘शास्त्रीय संगीतमा जुन आनन्द छ, त्यो अरू केहीमा पनि छैन ।’ उनले भजन र गजल भने गाएका छन् । आफू शास्त्रीय संगीतमै रमाउने बताउँदै चण्डीप्रसादले भने, ‘बाहिरी वातावरणसँग हामी म्याच हुँदैनौँ । घुलमिल हुन गाह्रो पर्छ । खानपान, स्वभावलगायतका कुरा मिल्दैनन् ।’ अहिले पनि उनी बिहान ६ बजेदेखि बेलुकीसम्म संगीतकै विद्यार्थीसँग रहन्छन् ।

विश्व नेपाली र नरेन्द्र प्यासीको गुरु संगीता
संगीता राना प्रधानले विगत साढे दुई दशकदेखि ललितकला क्याम्पसमा संगीत प्राध्यापन गरिरहेकी छिन् । भारतको भारती विश्वविद्यालयमा औपचारिक संगीत विषय बढेकी संगीताले थुप्रै कर्णप्रिय गीत नेपाली संगीत क्षेत्रलाई दिएकी छिन् । उनीसँग अहिले पनि दुई दर्जन शिष्य घरमै संगीत कक्षा लिन आउँछन् । गायक विश्व नेपाली, नरेन्द्र प्यासीलगायतलाई संगीता आफैँले उत्पादन गरेकी हुन् । त्यस्तै, गायक उदय श्रेष्ठ, मदन गोपाल, बिमला भुसाल, संगीतकार जुगल डंगोल, गायिका रजिना रिमाल, प्रज्ञा विश्वकर्मा उनकै शिष्य हुन् । संगीता आफू बिहानदेखि बेलुकीसम्म संगीतकै दुनियाँमा रहने बताउँछिन् ।

तपाईको प्रतिक्रिया