१८ भदौ काठमाडौ ।  गत हप्ता बिहीबार, वर्ल्डलिंक कम्युनिकेशनको नामबाट एउटा इमेल सञ्चारमाध्यममा आयो । इमेलको माथि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानको लोगो थियो ।  इमेलमा आइस्पानकै धारणा थियो, तर इमेल वर्ल्डलिंकबाट आएको थियो । सोहीअनुसार सबै सञ्चारमाध्यममा समाचार पनि प्रकाशन / प्रसारण भए ।
तर, त्यो इमेल आइस्पानको आधिकारिक नभएको रहस्य खुलेको छ । साथै ईमेलमा उल्लेख गरिएका कुरा (समस्या) वर्ल्डलिंकबाहेक अन्य कम्पनीहरूमा नरहेको पनि खुल्न आएको छ । आइस्पानको अध्यक्षसमेत रहेका वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले आफ्नो कम्पनीको कमजोरी लुकाउन पदको दुरुपयोग गरी अन्य कम्पनीलाई बलीको बोका बनाएको रहस्य खुलेको हो ।

यस्तो थियो वल्र्डलिंक कम्युनिकेसनले पठाएको ईमेल 

ईमेलमा गुगल एप्लिकेशन र युट्युब ढिलो खुल्नुको कारणबारे खुलाईएको छ । ईमेलमा भनिएको छ । ‘यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटनाप्रति गम्भीर ध्यानकार्षण भएको छ’ । ईमेलमा थप लेखिएको छ कि यो समस्या नेपालका इन्टरनेट कम्पनीका कारण नभइ गुगलका कारण भएको हो ।

ईमेलमा उल्लेख गरिएको छ ‘गुगलले विगत ४ बर्षदेखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब)को क्षमता सुधारका लागि नेपालका स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सर्भर राखेको ब्यहोरा अवगत गराउन चाहन्छौं । हाल गुगलले गरेको निर्णय अनुसार नेपालका आईएसपी कम्पनीहरुसँग अलग भएर  गुगलले नेपालमा आफ्नै नयाँ सर्भर राख्ने तयारी गरेको छ । गुगलको यस निर्णयका कारणले विगत ४ वर्षदेखि यहाँका कम्पनीहरुमा राखिरहेको सर्भरलाई विगत केही महिनादेखि  गुगलले स्तरउन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने  समय (वेलुका) मा सर्भरहरुको क्षमता अपुग भईरहेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरोन्नति हुन सकेको छैन भने अर्काेतर्फ गुगलले आफनो सर्भर राख्न पनि ढिलाई गरिरहेको छ ।’

इमेलमा समस्या मात्रै दर्शाइएको छैन । गुगलले आफ्नो सुधारको काम अगाडी नबढाएसम्म इन्टरनेट यस्तै ढिलो चल्छ भन्ने पनि ईमेलमा उल्लेख गरिएको छ । भनिएको छ ‘जबसम्म गुगलले आफ्नो सर्भरको स्तरोन्नति गर्दैन तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरु गुगलका एप्लिकेसन्स  जिमेल, यूट्युब आदि  ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । हामीले आशा गरेका छौं कि गुगलले तत्काल यो समस्याको समाधान गर्ने छ ।’  आइस्पानको कुरा भन्दै सबैतिर समाचार आएपनि यो न त आइस्पानको निर्णय रहेछ न त वल्र्डलिंकबाहेक अन्य कम्पनीमा भएको समस्या । समस्या रहेछ त केवल वर्ल्डलिंक कम्पनीको । आफ्नो सर्भर अपुग भएपछि दोष अरूलाई थुपारेर वर्ल्डलिंक पानी माथिको ओभानो बन्न खोजेको रहस्य पत्ता लागेको छ ।

यस्तो रहेछ वर्ल्डलिंकको धन्दा 

वर्ल्डलिंकले आइस्पानको भन्दै इमेल पठाएपनि आइस्पानकै अन्य सदस्यहरूले भने यो ईमेल आइस्पानको निर्णय नभएको बताउँछन् । आइस्पानका कोषाध्यक्ष निरज खरेल यो आइस्पानको कुनै आधिकारिक धारणा नभएको बताउँछन् । उनले न्यूजसेवासँग कुरा गर्दै भने ‘आइस्पानमा यो विषयमा कुनै निर्णय भएको छैन र समाचारमा आएजस्तो गुगल, जिमेल, युट्युबमा कुनै समस्या पनि छैन । हाम्रो कम्पनी क्लासिकटेक हो, हाम्रोमा कुनै समस्या छैन’ । खरेलले भने ‘त्यो इमेल कसरी आयो मलाई पनि थाहा छैन, त्यो आइस्पानको संस्थागत निर्णय होइन र जसले ईमेल पठाउनुभएको छ, उहाँहरुको कम्पनीमा समस्या हुनसक्छ, तर अन्य कम्पनीमा कुनै समस्या छैन’ ।

यता नेटम्याक्स्का प्रबन्ध निर्देशक भोजराज भट्टले पनि जुन किसिमले बाहिर समस्या आएको कुरा छ, त्यो सत्य नभएको बताए । उनले न्यूजसेवासँग भने ‘गुगलले आफ्नै सर्भर राख्ने तयारी गरेको कुरा साँचो हो, तर समस्या आइहालेको अवस्था चाहिँ होइन, र यो कुरा आइस्पानको निर्णय भएर आएको चाहिँ होइन ।  कुनै कम्पनीमा समस्या आएको हुनसक्छ, सबैतिर समस्या आएको भन्ने कुरा गलत हो ।’
यता सुविसु कम्पनीका एक कर्मचारीले पनि गुगल, युट्युबमा कुनै समस्या नरहेको बताए । उनले भने ‘यो विषयमा आइस्पानमा कुरा उठेपनि निर्णय नभएको रहेछ,  वर्ल्डलिंकका सञ्चालक अध्यक्ष हुनुहुन्छ, त्यहि कारण उहाँले आइस्पानको कुरा उल्लेख गर्नुभएको हुनसक्छ, तर यो गलत हो । आफ्ना ग्राहक भड्किने डरले सबै कम्पनीलाई मुछेको हुनुपर्छ ।’
वर्ल्डलिंकबाट आएको इमेलमा एउटा कुरा लेखिनु, छाता संस्थालाई नै मुछिनु र अन्य प्रदायकहरुले फरक कुरा बोल्नुले  वर्ल्डलिंकको बदमासी सिधासिधा खुलस्त हुन्छ । वल्र्डलिंकले आफु अध्यक्ष भएर स.स्थागत निर्णय नगरी अन्य कम्पनीलाई समेतथ मुििछएपछि अन्य कम्पनी आगो भएका छन् ।

बोल्दैन  वर्ल्डलिंक, कमजोरी लुकाउने खेल !

हामीले यो विषयमा सम्पर्क गर्न आइस्पानका अध्यक्ष तथा  वर्ल्डलिंक कम्युनिकेसनका प्रमुख दिलीप अग्रवालको सम्पर्कमा जाने प्रयास गर्यौं । तर, प्रयास सफल भएन, सम्पर्क हुन सकेन । त्यसपछि हामीले सम्पर्क गयौं  वर्ल्डलिंक कम्युनिकेसनका निर्देशक विजय जलनलाई । सुरूमा आइस्पानको इमेल होइन भनेर कसले भन्यो भन्दै उनी न्यूजसेवासँग पड्किए । तर, हामीले अन्य सेवाप्रदायकसँग पनि प्रतिक्रिया लिइसकेको बताएपछि उनी केही झस्किए । जलनले आफुले बुझेर भन्ने अथवा आफ्ना कम्पनीका प्रमुख तथा आइस्पानका अध्यक्ष अग्रवालसँग सम्पर्क गराउने प्रतिवद्धता जनाए । केही समयमै आफैले सम्पर्क गर्छु भनेका जलनले सम्पर्क गर्नु त कता हो कता हामीले गरेको फोनसमेत उठाउँदैनन् । तर,  वर्ल्डलिंकबाहेक अन्यत्र समस्या नआउनु र आइस्पानकै अन्य सदस्यले संस्थागत निर्णय नभएको भन्नुले  वर्ल्डलिंकको कमजोरी प्रष्ट हुन्छ । आफ्नो सर्भर व्यवस्थापन गर्नुको साटो आइस्पानलाई देखाएर अन्य कम्पनीलाईसमेत बलिको बोको बनाएको प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया