काठमाण्डु, १९ भदौ – काठमाण्डुमा अवैधरुपमा ८८ केजी सुन आउँदै गरेको सूचना तीन दिनअघि नै थाहा पाएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले संगठित गिरोहले सुन भित्र्याएको बताए । रसुवाको केरुङ नाकाबाट ठूलो परिणाममा सुन आउँदै गरेको सुराकी थाहा पाएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले डीएसपी नगेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा टोली परिचालन गरेको थियो ।

लोहनीले प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकको संलग्नता रहेको खुलेको पनि उल्लेख गरे ।

पक्राउ परेको सुनको मुल्य ४३ करोड रुपैयाँभन्दा बढीको रहेको छ । प्रहरीले मकवानपुरका २४ वर्षीय चालक मनोज अधिकारीलाई मात्रै पक्राउ गरेको छ ।

राति २ बजे बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीमा भिआइपीको लोगो प्रयोग गरी सुन काठमाण्डुसम्म ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया