झुम्का । शुद्ध खसीको मासुका लागि प्रसिद्धी कमाएको झुम्कामा मासु पसललाई व्यवस्थित बनाउँनका लागि फ्रेस हाउस संचालन गर्न नसक्दा फोहर र दुर्गन्धित मासुको बिक्रीले उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड भएको पाईएको छ ।
झुम्का बजारमा रहेको मासु पसलहरुमा जथाभावी फोहोरमैला जम्मा गर्ने, फाल्ने कारणले सक्रमणको खतरा बढदै गएको छ ।

रामधुनी नगरपालिकाकाले फोहरमैलाको विर्सजनसमेत सडक छेउमा गर्न थालेपछि फोहरबाट हुने दुर्गन्ध लगायतका प्रदुषणले उपभोक्ताहरुको स्वास्थ्यमा व्यवसायी र नगरपालिकाले हेलचेक्रयाई गर्न थालेको गुनासो स्थानीयहरुले गर्न थालेका छन ।

बजार एरियामा विक्रीका लागि राखिएका दैनिक उपभोगीय बस्तु माछा र मासु पसलको अगाडि फोहोर थुर्पानाले किनमेल गर्न आउने ग्राहकहरुलाई आउ जाउमा समेत नाक थुनेर हिडनु पर्ने अवस्था सिर्जना भएको छ ।

दैनिक तीस देखि चालिस वटा खसीको मासु विक्री वितरण हुने र सत्तरी देखि सय केजी सम्म माछा विक्री हुने पसल अगाडि दैनिकी भिडभाड लाग्ने गर्दछ । दैनिक रुपमा फोहोर थुर्पानाले दुर्गन्धले गर्दा बस्न सक्ने अवस्था नरहेको स्थानीय व्यापारी शम्भुप्रसाद चौधरीले गुनासो गरे ।

एक त खुल्ला रुपमा माछा र मासु विक्री वितरण हुन्छ, जताततै झिंगा भन्किरहेकोे हुन्छ, त्यस माथि फोहोरको दुर्गन्धले ग्राहकको आवत जावतमा पनि कमी आएको चौधरी जानकारी दिए ।

माछा र मासु दैनिक रुपमा किन्नको लागि दुहवी, धरान, इटहरी, इनरुवा र भन्टावारीसम्मको उपभोक्ता तथा होटल ग्राहकहरु आउने गरेको मासु व्यापारी सुगुवा चौधरी बताउँछन । उनले भने,‘दुर्गन्धले गर्दा विक्री गर्न पनि असहज अवस्था भएको छ, ग्राहक पनि गुनासो गरिरहन्छ ।

अविरल बर्षाको कारणले फोहोर व्यवस्थापन गर्न असहज भएकोले फोहोर थुर्पानका लागि नगरपालिकाले जग्गा लिजमा लिसकेको छ, अबको केही दिनमा व्यवस्थापन गर्न सकिने रामधुनी–१ का वडा अध्यक्ष महेशकुमार चौधरीले बताए । जुन फोहोर अहिले व्यवस्थापन गरिरहेको छ त्यो ठाउँमा ठुलो गहिरो खाल्डो भएकोले उक्त ठाउँलाई फोहोरले पुर्दै माथिबाट माटो हाल्ने काम भईरहेको चौधरीले जानकारी दिए ।

उपभोक्ताले दैनिक रुपमा खुल्ला झिगां भन्केको अस्वथ्यकर मासु खाईरहेको अवस्थामा झन अगाडिको दुर्गन्धित फोहोरको गन्धले हावाको माध्यमबाट विभिन्न किसिमका हैजा, आउँ, तथा झाडापाखा सर्ने सक्ने डर भएकोले छिटो समाधान गर्नका लागि स्थानीय व्यापारीहरुको माग रहेको छ ।
खुल्ला रुपमा माछा र मासु विक्री वितरणमा रोक, साथै सडक छेउमा थुप्रेका फोहोरमैलालाई सही ठाउँमा व्यवस्थापन गर्न सरोकारवला संघ÷संस्था तथा नगरपालिकाले विशेष पहल गर्न जरुरी रहेको छ ।

तपाईको प्रतिक्रिया