इनरुवा । सुनसरीमा महिला तथा बालबालिका क्षेत्रमा खर्च हुने गरेको अधिकाँश कार्यक्रम तथा योजनाहरु कागजमै सिमित हुने गरेको पाईएको छ । सुनसरीमा महिला तथा बालबालिका क्षेत्रमा ठुलो लगानी भएको देखिएता पनि कामको उपलब्धी भने शुन्य रहेको पाईएको हो । महिला तथा बालबालिका कार्यालय सुनसरी लगायत यस क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाबाट संचालित अधिकाँश कार्यक्रम कागजमै समिति । सुनसरी सहित मुकुक भरी नै बालअधिकारको पक्षमा काम गर्ने सरकारी तथा थुप्रै एन.जी.यो. र आइ.एन.जी.यो.को संख्या दिन प्रतिदिन बढिरहेको छ । तर बालश्रम शोषणलाई न्युनिकरण गर्न सकिएको छैन । बाल अधिकारको उल्लंघन गर्दै चौतर्फी रुपमा बालश्रम शोषण हुँदा समेत यसलाई रोक्नका लागि सम्बन्धित निकायले चासो दिएका छैनन् ।

सम्बन्धित निकायको उदासिनताका कारण सुनसरीमा मात्र सयौंको संख्यामा बालबालिकाहरु माथि श्रम शोषण भैरहेको छ । बालबालिकाहरु गरीबीका कारण श्रम गर्न बाध्य हुने कुरा यथार्थ भएपनि बालकले सक्ने भन्दा बढी काममा लगाएर यहाँका ठुला तथा साना होटेल संचालकहरुले अमानवीय व्यवहार गरिरहेका छन् । बालबालिकाहरुलाई ठुलो मान्छे सरह काम गराउने तर एकदमै न्युन पारिश्रमिक दिने तथा कसैलाई नदिने गरिएका घटनाहरु थुप्रै भेटिन्छन् । नेपालमा १४ वर्ष मूनिका बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध भएपनि त्यस्ता बालबालिकालाई श्रममा लगाउने गरेका छन् ।

सुनसरीको सदरमुकाम इनरुवा, इटहरी, झुम्का, लौकही, भाणटावारी सहितको मुख्य बजार का ठुला देखि साना होटल, चिया पसल लगायत अन्य व्यापारिक स्थानहरुमा ८ वर्ष देखि १४ वर्ष उमेरकै बालकबालिकाहरुको खुलेयाम रुपले श्रमशोषण गरिरहेको देखिन्छ । कुनै पनि देशको विकास उक्त देशका बालबालिकाहरुमा कति संख्याले बाल अधिकारको सहि सदुपयोग गर्न पाएका छन् भन्ने आधारमा देखिन्छ । देशको भविष्य पनि तिनै बालबालिकाको भविष्यमाथि निर्भर हुन्छ जुन बालबालिकाले भोलि देशविकासको अभिभारा आफ्नो काँधमा लिन्छन् ।

तर दुःख लाग्दो कुरा सुनसरीमा गरिबीका कारण बालश्रमिकको संख्या बढदो छ । गरीबीको रेखामूनि बाँच्नुपर्ने बाध्यताले बालबालिकालाई जीवनको प्रारम्भिक अवस्थादेखि नै बाँच्नका लागि कडा परिश्रम गर्नुपर्ने बाध्यता रहेको छ । विभिन्न गोष्ठि, सभा र सेमिनारमा संघ संस्था गरिबी निवारण तथा बालश्रम रोक्ने सम्बन्धि कुराहरु नगरिएका पनि होईन । गरिन्छन तर सुधार भने भएको देखिदैन । बाल कामदारहरुले आफ्नो जीवन र भविष्यको ठूलो अनिश्चितताबीच डर र कहालीलाग्दो जीवन बाँच्नु परिरहेको छ । उनीहरु निरक्षरता, शिक्षाको कमी गरिबी तथा चेतना अभावका कारण जताततै शोषित भईरहेका छन् । बालश्रम सुनसरीमा मात्र नभए नेपालमा नै गम्भीर समस्याका रूपमा रहिआएको छ ।

बाल श्रम शोषणमा कमी आउनुको सट्टा निरन्तर बढिरहेको छ । बालबालिकालाई रोजगार दिने होटेल संचालक वा मालिकहरुले उनीहरुलाई अति न्यून ज्याला दिई शोषण गर्ने गरेका छन् । उनीहरु विद्यालयको उज्यालो शिक्षाको पहुँचबाट समेत बञ्चित हुनुपरेका छन् । बाल अधिकार सम्बन्धि काम गर्ने थुप्रै संघ संस्था भएपनि यस प्रति कुनै चासो नदिए कार्यक्रमहरु कागजमै सिमित गर्ने गरिएको स्थानियहरुको आरोप रहेको छ । यता महिला तथा बालबालिका कार्यालय सुनसरीकी प्रमुख निरजला अधिकारीले १४ वर्ष मुनिका बालबालिका लाई कुनै पनि किसिमको काममा लगाउन नपाइने व्यवस्था कानुनमा भएको बताउदै बालश्रम,गराइएको पाइए नजिकै प्रहरी कार्यालय वा महिला तथा बालबालिका कार्यालयमा सूचना आए तत्काल त्यस्तो गर्ने लाई कार्वाही गरिने बताइन् । महिला तथा बालबालिका कार्यालय त्यस्ता बालश्रम रोक्न र बालश्रमिकको उद्धार कार्यमा लागेको समेत अधिकारीले दावी गरिन ।

तपाईको प्रतिक्रिया