काठमाडौं । बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यकोषमाथि करोडौं रुपैयाँबराबरको व्ययभार पर्दै आएको छ । काठमाडौंको वन परिसरमा थन्किएको रक्तचन्दन रुँघ्न मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र एक वनरक्षक खटिँदै आएका छन् । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ती सुरक्षाकर्मीलाई अतिरिक्त सुविधासहित रक्तचन्दन सुरक्षामा खटाइएको हो ।

०६२ देखि दुई लाख ४७ हजार ४८ किलो प्रतिबन्धित रक्तचन्दन बरामद भएको विभागको तथ्यांक छ । चार कन्टेनर, एक ट्रक र एक टाटा मोबाइल गाडीमा लोड गरिएका रक्तचन्दनको व्यवस्थापन सरकारका लागि ठूलो टाउको दुखाइ बन्दै आएको छ ।

वन विभागका सूचना अधिकारी अवोधकिशोर कुसवाहका अनुसार बरामदमध्ये ८५ प्रतिशत दशीका सामान (रक्तचन्दन) का विषयमा अदालतले फैसला गरिसकेको छ । अदालतले व्यवस्थापन गर्नू भनिसके पनि सरकारले गर्न नसक्नुमा केही जटिलता छन् । जसका कारण बर्सेनि राज्यकोषमाथि करोडौंको भार परेको हो ।

नेपालले हस्ताक्षर गरेको साइटिस सन्धिअनुसार बरामद रक्तचन्दनलाई उत्पत्ति भएकै मुलुकमा फिर्ता पठाउनुपर्ने हुन्छ । वन विभागले भारतबाट तस्करी भएर आएको रक्तचन्दन भारतमै फिर्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन ।विभाग प्रवक्ता ईश्वरी पौडेलले कूटनीतिक तवरमै रक्तचन्दन फिर्ता लिन आग्रह गर्दा भारत सरकारले चासो नदेखाएको जानकारी दिए ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (साइटिस) को अनुसूची १ मा राखिएको लोपोन्मुख रक्तचन्दन अवैध ढंगले नेपाल भित्रिएपछि बरामद भएको हो । ०७१ फागुन १२ गते मन्त्रिपरिषद्ले २७ हजार एक सय ६६ किलो भारतलाई फिर्ता पठाउने निर्णय गरेको थियो।

रक्तचन्दन भारतका आन्ध्र, महाराष्ट्र र कर्नाटक प्रदेशमा पाइने अनुसन्धानकर्ताहरूको भनाइलाई आधार मान्दै सरकारले फिर्ता लान भारतलाई आग्रह गरेको हो । अहिले भारतले फिर्ता लानसक्ने मुद्दा किनारा लागेका एक लाख ५३ हजार दुई सय ४१ किलो चन्दन विभागको जिम्मामा छ ।

पछिल्लोपटक २०७२ मा रसुवामा ठूलो परिमाणमा रक्तचन्दन बरामद भएको थियो । हालसम्म विभिन्न २० जिल्लाबाट रक्तचन्दन बरामद भएको तथ्यांक छ ।

दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन बरामद भएकोमा १९ हजार तीन सय २४ किलो त हराइसकेको छ । बाँकीमध्ये १३ हजार सात सय ३० किलो मुद्दा प्रक्रियामा छ । बहुमूल्य मानिने रक्तचन्दन भारतबाट नेपालको बाटो हुँदै तिब्बत पुर्‍याइ बिक्री गर्न ठूला गिरोह संलग्न हुने सुरक्षा निकायको भनाइ छ ।

नेपालमा रक्तचन्दन तस्करीमा बाटो ‘क्लियर’ गराएर थुप्रै आपराधिक समूहले लाभ लिएको जानकारहरू बताउँछन् । पूर्वीनेपालको किमाथांका नाका सबैभन्दा रक्तचन्दन तस्करी हुने नाका हो । कानुनतः बरामदस्थलबाट सम्बन्धित देशले आफ्नै खर्चमा रक्तचन्दन फिर्ता लानुपर्ने व्यवस्था छ । साइटिस कानुनअनुसार फिर्ता लान निर्णय भएको ९० दिनभित्र नलगे आन्तरिक रूपमै अन्य प्रक्रियाबाट व्यवस्थापन हुने व्यवस्था पनि छ ।

 

तपाईको प्रतिक्रिया