इनरुवा । सुनसरीमा पछिल्लो समय चोरीको घटनामा वृद्धि भएको छ । चोरी मुद्दामा कम कार्वाही र जरिवाना पनि कम भएकाले पछिल्लो समय चोरीको घटनामा वृद्धि भएकोे स्थानीयहरुले बताएका छन ।
जिल्लामा खुल्ला सीमाना र चोरहरुको बिगबिगी बढेकोले एकपछि अर्को चोरीको घटना हुने गरेको पाईएको छ । सुनसरीमा एक वर्षमा सानाठूला गरी १ सय ३१ वटा चोरीको घटना भएको तथ्यांक रहेको छ ।
जिल्लामा डाँका चोरी १२ वटा, जबरजस्ती चोरी ८ वटा, नकाबजनी चोरी ३८ वटा, रहजनी चोरी ९ वटा र साधारण चोरी ६४ वटा गरी सो संख्यामा चोरी भएको सुनसरी जिल्ला अदालतको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको सीमावर्ती बर्जु गाउपालिका, देवानगंज, हरिनगारा, भोक्राहा, कोशी गाउँपालिकाको बिभिन्न स्थानमा तथा बस्तीमा चारीको घटना बढ्ेको स्थानीयले गुनासो गरेका छन ।
यता सदरमुकाम इनरुवा, झुम्का, इटहरी र धरानमा समेत सवारी तथा मेसिन र मोटर चोरीको घटना भएकोे तथ्यांकमा देखाईएको छ । प्रहरी स्रोतका अनुसार चोरी मुद्दामा अदालतबाट कम जरिवाना र कम समयसम्म कैद तोकिएकाले चोरहरुको मनोबल बढेको हो । कडा कानूनको अभावले समेत चोरीको घटनाले बढुवा पाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक शेषनाथ थन्दारले बताए ।

तपाईको प्रतिक्रिया