इटहरी । नेकपा एमाले सुनसरीले गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरित कार्य गर्ने १२ जना नेता कार्यकर्तालाई कारवाही गरेको छ । एमाले सुनसरीका कार्यालय सचिव गोविन्द निरौलाका अनुसार पार्टी कार्यालयको बैठकले गरेको निर्णय अनुसार १२ जना नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको हो । निर्वाचनमा पार्टीको उम्मेदवार बिरुद्ध लाग्ने र विपक्षी पार्टीलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई कारवाही गर्न तल्लो तहबाट धेरै उजुरी आएकोमा पहिलो चरणमा जिल्ला कमिटीका सदस्य देखी संगठित सदस्य सम्मका १२ जनालाई कारवाही गरिएको एमाले सुनसरीले जनाएको छ ।
कारवाहीमा पर्नेहरुमा जिल्ला कमिटी सदस्य सुमित्रादेवी मेहता हरिनगरा गाँउपालिका, गोविन्द निरौला धरान, रामनारायण अगरिया, सुरेन्द्र पाठक, मोहन मण्डल कोशी गाँउपालिका, लक्ष्मी बास्तोला रामधुनी नगरपालिका, पानालाल चौधरी इटहरी, देवी खनाल इटहरी, कुलदिप चौधरी दुहवी नगरपालिका, प्रमिला म्याङ्वो धरान, चण्डीराज घिमिरे बराह नगरपालिका, सुमित्रा गुरुङ बर्जु गाँउपालिका रहेका छन् ।
यसैगरी कारवाहीको माग गरी तल्लो तहबाट सिफरिस भएका अन्यलाई पनि कारवाहीको तयारी गरेको एमाले जिल्ला कमिटी सुनसरीले जनाएको छ ।
पार्टी भित्रका नेता कार्यकर्ताले अन्र्तघात गर्दा सुनसरीको हरिनगरा, कोशी, बर्जु गाउँपालिका तथा रामधुनी र दुहवी नगरपालिकामा हार व्यहोर्नु परेको एमाले सुनसरीको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया