कोरोना संक्रमणको उपचारका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सामग्रीहरुको चिनियाँ पक्षले संकलन सुरु गरेको छ।चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा संकलन गरी काठमाडौं ल्याउने तयारी भएको हो।

गतहप्ता नेपालले चीन र भारत दुवैतर्फबाट कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची बुझाएको थियो।स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने करिब ३० टन सामग्री ल्याउने गरी तयारी भइरहेको बताए।

‘हामीले चाँडोभन्दा चाँडो सामग्री ल्याउने गरी तयारी गरिरहेका छौं। तर चीनका विभिन्न सहरबाट संकलन गर्ने काम भइरहेको छ,’ ती अधिकारीले भने, ‘नेपाली विमान पठाउने कि चिनियाँ विमानबाटै ल्याउने भन्ने टुङ्गो लागिसकेको छैन। स्वास्थ्यमन्त्रालयले यस विषयलाई गम्भीर रुपमा लिएर ताकेता गरिरहेको छ।’ चीनका लागि कार्यवहाक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री संकलन गर्ने काम गरिरहेको बताए।

‘चिनियाँ पक्षले विभिन्न सहरमा संकलन गर्ने काम गर्दैछ। ती सामग्री आपूर्तिका लागि चीन सरकारको स्वीकृति आवश्यक पर्छ,’ लम्सालले   भने, ‘कसरी र कहिले नेपाल ल्याउने भन्ने तय भइसकेको छैन।’

नेपालले चीनसँग तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन९५ मास्क डेढ लाख थान आवश्यक रहेको जनाएको छ।त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत गरेको छ।

भारतबाट समेत सामग्री ल्याउने प्रस्ताव पठाइए पनि दक्षिणी मुलुक आफैँ कोरोना महामारीसँग संघर्ष गरिरहेका कारण चीनबाट चाँडो सामग्री ल्याउन जोड गरिएको छ।

नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूतले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताएकी छिन्।

तपाईको प्रतिक्रिया