बुद्धिबंगारा शारीरिक कारणले सबैभन्दा ढिलो आउने दाँत हो । सामान्यतया यो दाँत १८ देखि २५ वर्षको उमेरभित्र आउने गर्छ । कसै–कसैलाई अझ ढिलो पनि आउँछ । आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको भाग आजकाल झन् सानो हुँदै गएको छ ।

निकै सानो ‘स्पेस’मा यो बंगारा आउनै सक्दैन । खासमा यो बंगाराको कुनै काम नै छैन । खाना चपाउन पनि यसले कुनै सहयोग गर्दैन । पश्चिमा मुलुकतिर बुद्धिबंगारा दुख्नेबित्तिकै फाल्ने गरिन्छ । नेपालमा भने खपेर बस्ने चलन छ । नेपालमा त यो बंगारा आउनुलाई बुद्धि आएको रूपमा पनि व्याख्या गर्ने गरिन्छ । तर, यो अनावश्यक दाँतको कुनै काम नै छैन ।

बुद्धिबंगारा ढिलो आउने भएकाले कतिपयमा दाँत आउने ठाउँ एकदमै थारै हुन्छ । यदि दाँतको लागि ठाउँ पुगेन भने कहिले गिजाभित्र त कहिले हड्डीभित्र आउने गर्दछ । यस्तै कतिपय अवस्थामा दाँतका लागि सानो ठाउ ँहुँदा अन्य दाँतलाई ठेल्दै बाहिर आउने गर्दछ । जसले गर्दा दाँतको जरामा दुखाइ उत्पन्न हुन्छ ।

यो दाँत एकैपटकमा आउँदैन, जसले गर्दा लामो समयसम्म दुःख दिन्छ । स्थान सानो हुने भएकाले फुट्ने क्रममा  पीडा हुन्छ । यस्तै दाँतमा खानेकुरा अड्किने गर्दछन् । दाँत सफा गर्दा ब्रस पनि राम्रोसँग पुग्न पाउँदैन । अड्किएमा खानेकुरा कुहिन सक्ने डर हुन्छ । बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले पनि थिच्ने गर्दछ । यस्तै, वरिपरिको मासुमा छेडेर आउने हुदाँ संक्रमण हुने डर हुन्छ । जसले गर्दा दुखाइ झन् बढेर जान्छ ।

तपाईको प्रतिक्रिया