तपाईंको जीवन मूल्यवान बनाउने वा मूल्यहिन ? नितान्त तपाईंको हातको कुरा हो । जीवन त यसैपनि मूल्यावान् छ । तर, हामीले यसको मूल्य गुमाउने गर्छौं । जीवनलाई बुझ्दैनौं । हामीले आफ्नो जीवनको मूल्य कसरी तय गर्ने ? यस सन्दर्भमा एउटा कथा छ ।

एक व्यक्तिले भगवान बुद्धसँग सोधे, ‘जीवनको मूल्य के हो ?’ बुद्धले तत्काल जवाफ दिएनन् । बरु एउटा काम लगाए । उनले ति व्यक्तिको हातमा एउटा ढुंगा थमाइदिए र भने, ‘जाउँ, यस ढुंगाको मूल्य पत्ता लगाएर आउँ । तर, ध्यान राख यसलाई बेच्न पाउने छैनौं ।’

ति व्यक्ति ढुंगा बोकेर हिँड्यो । उनी सुन्तला वेचिरहेका पसलेकहाँ पुगेर सोधे, ‘यसको मूल्य कति होला ?’ सुन्तला बेचिरहेका व्यक्तिले त्यो चम्किलो ढुंगा हेरे । अनि जवाफ फर्काए, ‘१२ वटा सुन्तला दिन्छु, यो ढुंगा मलाई दिनुहोस् ।’ त्यहाँ भन्दा अगाडि एक पसले आलु बेचिरहेका थिए । ति व्यक्ति आलु व्यापारीकहाँ पुगे । चम्किलो ढुंगा हेर्दै आलु व्यापारीले भने, ‘एक बोरा आलु लानुहोस्, यो ढुंगा म राख्छु ।’ उनले ढुंगाको वास्तविक मूल्य कति हो भनेर भेउ पाएनन् ।

उनी अगाडि बढे । त्यहाँ सुन बेच्ने पसल थियो । सुन व्यापारीसँग पनि उनले ढुंगा देखाउँदै त्यसको मूल्य बुझ्न चाहे । सुन व्यापारीले भने, ‘म सुन दिन्छु, तपाईंले मलाई यो ढुंगा दिनुहोस् ।’ उनी अर्को पसलमा पुगें, त्यो पनि ज्वेलरी पसल थियो । ज्वेलरी पसलेले ढुंगालाई निकैबेर ठिम्याए । सुमसुम्याए । र, ढुंगाका लागि जतिपनि मूल्य चुकाउन तयार भएको वताए । ‘यति अनमोल चिज कहाँ फेला पार्नुभयो, मलाई दिनुहोस्’ उनले जिद्दी गरे । ति व्यक्ति रनभुल्लमा परे । उनले ढुंगाको वास्तविक मोल कति हो भनेर थाहा पाउनै सकेनन् ।

उनी आजित भएर बुद्धकहाँ फर्किए । तब बुद्धले भने, ‘तिमीले मलाई जुन प्रश्न सोधेका थियौं, त्यसको जवाफ पाइसक्यौं । जीवनको मूल्य त्यही कुराले निर्धारण गर्छ कि, त्यो कसको हातमा छ ?’ बुद्धले अरु प्रष्ट पार्दै भने, ‘यो चम्किलो ढुंगाको मूल्य एक सुन्तला पसलेका लागि १२ वटा सुन्तला बराबर भयो । सब्जी पसलेका लागि एक बोरा आलु बराबर भयो । सुनारका लागि एक तोला सुन बराबर भयो । र, हीरा व्यापारीका लागि यो अनमोल भयो ।’

जीवन कस्तो बनाउने ? सस्तो वा अमूल्य ? निरर्थक वा सार्थक ? हाम्रो हातमा छ । प्रकृतिले हामीलाई सम्पूर्ण कुरा दिएको छ । तर, सबै कुरा पाएर पनि हामी भिखारी जस्तै भएका छौं । अरुको आशामा, अरुको भरमा, अरुको दयामा बाँचिरहेका छौं । जबकी हामीसँग ति सबै इन्दि्रय छन्, जो हवाइजहाजको आविष्कार गर्नेसँग थियो । हामीसँग ति सबै इन्दि्रय छन्, जो बुद्धत्व प्राप्त गर्नेसँग थियो ।

हामीसँग ति सबै इन्दि्रय छन्, जो संसार जित्नेसँग छन् । प्रकृतिले हामीलाई ठगेको छैन । तर, हामी आफ्नै लाचरी, लापरवाही, आलस्य, अज्ञानताले आफ्नो जीवनको मूल्य गुमाउँदै जान्छौं । भनिन्छ, हरेक जीवन एउटा संभावना हो । तर, हामी ति संभावनाको खोजी कति गर्छौं ? हाम्रो जीवनका रचनाकार हामी आफै हौं ।

जसरी एउटा क्यानभासमा कस्तो रंगमा पोत्ने, कस्तो आकृति बनाउने भन्ने कुरा चित्रकारको हातमा हुन्छ, त्यसैगरी हाम्रो जीवनलाई कति रंगीन, कति रसिक, कति मूल्यवान बनाउने भन्ने कुरा हाम्रो हातमा हुन्छ । हाम्रो जीवन खुला क्यानभास हो । कुची हामीसँग छ । रंग हामीसँग छ । अब त्यसलाई बेकारको बनाउने कि, अमूल्य ? हामीले खेलाउने कुची र छनौट गर्ने रंगमा यो कुरा निर्भर गर्छ ।

                                                                                                                                  लेखक : वासु अधिकारी सुन्दरहरैचा १०, मोरङ

तपाईको प्रतिक्रिया