पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । बुधवारको तुलनामा बिहीवार पनि प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।  शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ३०० रुपैयाँ पुगेको छ ।

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला र ७५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार २०० रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीवारको तुलनामा १५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला ८८५ रुपैयाँ पुगेको छ ।

नेपालको इतिहासमा बुधवार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासंघले बुधवार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ निर्धारण गरेको थियो ।  सामान्य उतारचढावबीच कारोबार भइरहेको सुनको मूल्य अमेरिका र इरानबीच तनाव देखिन थालेपछि एकाएक उच्च वृद्धि भएको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ५४९.९५ र चाँदीको मूल्य प्रतिऔंस १७.९२ अमेरिकी डलरमा झरेको छ ।

विश्व बजारमा सोमवार सुनको मूल्य प्रतिऔंस १ हजार ५७३.५० अमेरिकी डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएकाले स्वभाविकरुपमा त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया