इनरुवा  ।  सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को दोश्रो खेलमा कर्णाली प्रदेशलाई प्रदेश नम्बर २ ले ८ विकेटले पराजित गरेको छ। हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

अब शुक्रबार हुने प्रदेश नम्बर २ र नेपाल पुलिस बीचको खेलमा विजेता हुने टिमले सेमीफाइनलमा स्थान पक्का गर्नेछ। पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश नम्बर ३ तथा समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

इनरुवा रंगशालामामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कर्णालीले दिएको १३० रनको लक्ष्य प्रदेश नम्बर २ ले मात्र दुइ विकेट गुमाएर २२.५ ओभरमा पुरा गर्यो।

प्रदेश-२ को लागि हसिम अन्सारीले अविजित ८० रन तथा सुरज पटेलले अविजित ३३ रन बनाए। हसिमले ७३ बलमा ११ चौका र १ छक्का तथा सुरजले ५० बलमा १ चौका र १ छक्का प्रहार गरे।

कर्णालीको लागि अनुज चुनारा र दिनेश अधिकारीले समान १/१ विकेट लिए।

????????????????????????????????????

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा १२९ रन बनाएको थियो। कर्णालीको लागि कप्तान रविन्द्र जंग शाहीले सर्वाधिक ४६ रन बनाए। उनले ६८ बलमा ६ चौका र १ छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए।

प्रदेश-२ को बलिंगमा कप्तान मेहबुब आलमले सर्वधिक ३ विकेट लिए। देब्रे हाते स्पिन गरेका आलमले ४.५ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। आदील अन्सारी, हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हसिम अन्सारी चुनिए।

तपाईको प्रतिक्रिया