काठमाडौ , नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । चिनियाँ दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखणडताको सधैं सम्मान गर्ने बताएको छ ।

नेपाल र भारतबीचको कालापानी क्षेत्र सम्बन्धी विवाद मैत्रिपूर्ण छलफल र वार्ताका माध्यमबाट समाधान गरुन भन्ने आफूले चाहेको चिनले बताएको छ । ‘नेपाल र भारतबीचको कालापानी भूभागको विवाद उनीहरूबीचको मित्रवत परामर्श र वार्ताको माध्यमबाट समाधान होस भन्ने चिनियाँ पक्ष चाहन्छ, नेपाली पक्षको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको चीन सधै सम्मान गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

चिनले आफूले नेपालको सिमा नमिचेको दाबी पनि गरेको छ । ‘केही गैरजिम्मेवार सञ्चारमाध्यम तथा व्यक्तिहरुको समूहले चीनले पनि नेपालको भूभाग मिचेको भन्ने विषयमा हामीले जानकारी लिएका छौं । यस प्रकारका आरोपहरु आधारहीन र अन्यौल सिर्जना गर्ने र आममानिसको ध्यान अर्कोतर्फ मोड्ने उद्देश्यले आएको हो । नेपाल र चीनबीच सन् १९६१मा सीमा सन्धिमा हस्ताक्षर भई सीमा छुट्याउनुको साथै सीमाकांन गरिएको हो,’ विज्ञाप्तिमा भनिएको छ ।

नेपाल-चीनबीच सन् १९६१ मा सीमा सम्झौता भएर सीमा पहिचान र चिन्ह लगाउने काम सम्पन्न भएको विज्ञाप्तिमा बताइएको छ । नेपाल र चीनबीच सीमा र सुख्खा बन्दगाहजस्ता मामिलामा राम्रो सहकार्य हुँदै आएको पनि चिनियाँ दुतावासको दावी छ ।

‘यही अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको सफल नेपाल भ्रमण भएको थियो र सो भ्रमणको समयमा दुई पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सहमति हस्ताक्षर गरेको थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘सीमा मामिलामा नेपालसँग सहकार्यलाई थप सुदृढ गर्न, बाह्य हस्ताक्षेप रोक्न र साझा विकास प्रवर्धन गर्न चीन इच्छुक छ ।’

तपाईको प्रतिक्रिया