इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ५ बलाहामा समाचकेवा साँस्कृतिक कार्यक्रम बुधवार सम्पन्न भएको छ । थारु जागृति युवा क्लव बलाहाको आयोजनामा समाचकेवा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
थारु महिला तथा युवाहरुको सहभागितामा थारु पहिरनमा समाचकेवा खेल्दै साँस्कृतिक कार्यक्रम गरी समाचकेवा सम्पन्न गरेको आयोजक संस्थाका दुलिचन्द चौधरीले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले थारु र मधेशीहरुको ऐतिहासिक समाचकेवा पर्वले सामाजिक एकता, सदभाव र भाइचारा कायम गर्ने भएको बताउनुभएको छ । थारु जागृति क्लवको आयोजनामा समाचकेवा साँस्कृतिक कार्यक्रममा बोल्नुहुदैं नगर प्रमुख मेहताले थारु तथा मधेशी समुदायको मौलिक र पुराणिक संस्कार सँग जोडिएको ऐतिहासिक समाचकेवा पर्वले शान्ति र सम्बृद्धि कायम हुने बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य इकवाल अहमदले समाचकेवा पर्वले थारु र मधेशी समुदायको सम्वन्ध मात्र नभई सबै जातजातिहरुको सम्वन्धमा सुमधुर कायम हुने बताउँदै अहमदले ऐतिहासिक समाचकेवा पर्वले सबैको घर घरमा खुशयाली छाउने तथा एक आपसमा सम्वन्ध प्रगाढ, आत्मियता, धर्म विभेद अन्त्य भई सबै दाजुभाई दिदिबहिनीमा स्वच्छता पवित्र प्रेमको बास हुने बिश्वास ब्यक्त गर्नुभयो ।
साँस्कृतिक कार्यक्रममा त्यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अञ्जनी कुमार पोखरेल, नेकपाका मेघराज न्यौपाने, लाल बहादुर श्रेष्ठ, इनरुवाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, पत्रकार टोमराज मेहता लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच समाचकेवा बिर्सजन तथा चुगला दहन कार्यक्रम समेत बुधवार नै सम्पन्न गरेको क्लवका अध्यक्ष नरेश चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया