चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालका लागि चेन्नेईबाट प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने अनौपचारिक शिखर सम्मेलनका लागि हिजो तमिलनाडू पुगेका राष्ट्रपति सी नेपाली समय अनुसार आज दिउँसो २ बजे चेन्नेईबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका हुन् । उनी साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

उनको आजै राष्ट्रपति भण्डारी तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट तय भएको छ ।

भोलि बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ता हुनेछ । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुनेछ ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ ।

तपाईको प्रतिक्रिया