सुनसरी, नेपाल भारत सिमामा पर्ने सुनसरीको घुस्कीमा बुधबार बिहान भारतीय लुटेरा समूहले ६ वटा चौपाय चोरी गर्नुको साथै स्थानिय केही व्यक्तिको घर तोडफोड गरेका छन् ।

बुधबार बिहान करिब २ बजेको समयमा ६ जनाको हतियारधारी समूहले हरिनगर गाँउपालिका ६ घुस्कीका ताहिर अन्सारीको गोठबाट २ भेंसी १ पाडा, उमर अन्सारी गोठबाट १ भैंसी १ गाई १ पाडी चोरी गरेको हो ।यस्तै हरिनगर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य दाउद अन्सारीको घर समेत तोडफोड गरिएको छ ।

नकाबधारी समूहले गोठमा बाधिएका चौपाय चोरी गरी भारत लगेको पिडित उमर अन्सारीले जानकारी दिए । ‘भरुवा र हातमा भाला बोकेका समूह थिए, राती बोल्यो भने मार्छु भनेर धम्की दिए’ अन्सारीले भने । यी समूहले बिगत ३ बर्षदेखि नेपाली भूमीमा छिरेर चौपाय चोरी गरी भारत लाने गरेको अन्सारीको दाबी छ ।

अर्काे पिडित ताहिर अन्सारीले सिमावर्ती क्षेत्रमा रहने नेपाली नागरिकहरु असुरक्षित महसुस गर्न थालेको बताए । सिमामा तैनाथ शसस्त्र र जनपद प्रहरीको टोलीले सिमाको सुरक्षामा ध्यान नदिनुको यो घटना उदाहरण भएको उनको भनाई छ ।

यता सुनसरी प्रहरीले चाडपर्वको समयमा सिमा सुरक्षा बढाएको दाबी गरेपनि खुलेआम भारतीय लुटेरा समूहले चौपाय चोरी गरी सिमा कटाउदा समेत प्रहरी अनभिज्ञ देखिन्छ । सिमाको सुरक्षा मजबुद नहुदा घुस्कीका स्थानियहरु भारतीय लुटेरा समूहको आतंकबाट आजित छन् ।

तपाईको प्रतिक्रिया