भारतको उत्तरखण्डको धार्मिक सहर हरिद्वारस्थित प्रहरीलाई एउटा अनौठो घटनाले पिरोल्यो। जब एक व्यक्तिले आत्महत्या गरे, उनको श्रीमती दाबी गर्दै सात महिला प्रहरी कार्यालय आइपुगे। र, अन्त्येष्टि गर्न मृतकको शव माग्न थाले।

‘सुरुमा त पाँच महिला मात्रै आएका थिए, बहस चल्दै गर्दा अरु दुई जना थपिए,’ हरिद्वार प्रहरीले भन्यो, ‘सात जनाले एकै व्यक्तिको शवमा दावी गरेपछि हामी पनि अलमलमा पर्‍यौं।’

के थियो वास्तविकता?

हरिद्वारमा भएको यो घटनामा मृतकको नाम थियो– पवन कुमार। उनी सवारी चालक थिए। गत आइतबार उनले आत्महत्या गरेका थिए।

पवनकी एक श्रीमतीलाई बेहोस अवस्थामा भेटाएर अस्पताल पुर्‍याइएको थियो। उनी बाँचिन्। तर, पवन उपचारकै क्रममा बिदा भए।

प्रहरीका अनुसार आर्थिक संकटसँग जुधिरहेका सवारीचालक पवन स्त्री प्रेमी थिए। जहाँ गयो, त्यही प्रेमिका बनाउने उनको बानी थियो।

तर, प्रहरीले पवनलाई अस्पताल लिएर जाने महिलालाई नै श्रीमती भएको निष्कर्ष निकाल्दै उनैलाई अन्त्येष्टि गर्न अनुमति दिएको छ।

अन्यले यसको विरोध जनाएका थिए। प्रहरीले घटनाको अनुसन्धान जारी रहेकाले थप केही भन्न नसकिने बताएको छ।

तपाईको प्रतिक्रिया