सोलुखुम्बु/ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले सामुदायिक विद्यालय क्षेत्रमा तयारी खानेकुरा(जङ्क फुड) प्रयाेगमा प्रतिबन्ध लगाइएकाे छ । गाउँपालिकाकाे वडा नं ४ र ५ का स्थानीयवासीले विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’लाई प्रतिबन्ध गर्ने स्वःस्फूर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिए ।

शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन् ।‘विद्यालय क्षेत्रभित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ”, कुकलुङले भने “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अर्ग्यानिक खानेकुरालाई प्रवर्द्धन गर्न हामी एकमत भएका हौं ।’

वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिइने स्थानीयवासी बताउँछन् ।

बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङको भनाइ छ ।

हरेक बारमा फरक खाजा

जङ्कफुडको विकल्पसहित बारअनुसारको विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ । निर्णयानुसार विद्यार्थीका लागि आइतबार भुटेको भात, सोमबार आलु, मङ्गलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु–पिँडालुलगायत कन्दमुल खाजाका रुपमा प्रयोग गर्नुपर्नेछ । गाउँपालिका क्षेत्र कृषिमा आत्मनिर्भर बन्नका लागि सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिए ।

जिल्लाको निकै दुर्गम मानिने उक्त गाउँपालिकामा साविक तीन गाविस मिलाएर पाँच वडा कायम गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले समेत छोएको सो गाउँपालिका कृषिसँगै पर्यटनमा समेत उत्तिकै सम्भावना बोकेको छ ।

तपाईको प्रतिक्रिया