वासु अधिकारी, अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं ।

आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करमा हामीले आफुलाई ‘विशिष्ठ’ ठान्नुहुँदैन । यो भूल हुनेछ ।

समाजमा अरुभन्दा अलग देखिने चक्करमा हामी आफुलाई ‘विशिष्ठ’ बनाउने यत्न गरिरहेका हुन्छौं । अरुले भन्दा भिन्नै लगाउने, अरुले भन्दा भिन्नै ठाउँमा बस्ने, अरुले भन्दा भिन्नै साथी-सर्कल बनाउने गर्छौं । यस क्रममा हामी ठानिरहेका हुन्छौं कि, म सामान्य होइन । साधारण होइन ।

यहि भावनाले हामीमा दम्भ र भ्रम पैदा गरिदिन्छ । हामी अरुभन्दा आफुलाई उन्नत सम्झन थाल्छौं । अरुभन्दा जान्नेबुझ्ने ठान्न थाल्छौं । अरुभन्दा विशिष्ठ ठान्न थाल्छौं । यही सोंचले हामीलाई समाज एवं सर्वसाधरणबाट अलग बनाइदिन्छ । हामी सर्वसाधरणको भिडमा घुलमिल हुँदैनौं । हाम्रो चालढाल फरक हुनेछ । हाम्रो बोलीचाली फरक हुनेछ ।

सामान्य मान्छेसँग हामीलाई संगत गर्न मन लाग्दैन । सामान्य मान्छेहरुको बिचमा बस्न मन लाग्दैन । अतः हामी थाहै नपाई समाजसँग दुरी बढाउन थाल्छौं । जब हामी समाजबाट दुरी बढाउँछौं, तब हामी धेरै कुरा गुमाउन थाल्छौं । आफुलाई विशिष्ठ ठान्नेर हामीले आफ्नो संसारलाई खुम्च्याउँदै र साँघुरो बनाउँदै लानेछौं ।

साधारण हुनुहोस्

हामीले ‘विशिष्ठ’ होइन, साधारण बन्ने प्रयास गर्नुपर्छ । हामी जति धेरै आफुलाई साधारण बनाउन थाल्छौं, उत्तिनै समाज र सर्वसाधरणसँग एकाकार हुन पुग्छौं । तब हामीलाई आफ्नो धरातल, आफ्नो परिस्थिती, आफ्नो समय बोध हुन थाल्छ ।

जब हामी साधारण बन्न थाल्छौं, सबैको भावना, चाहना, इच्छा, आकंक्षा बुझ्न थाल्र्छौं । समाजको असली तस्वीर देख्न सक्छौं । यसले हामीलाई धेरै कुरा सिकाउँछ ।

हामीले आफुलाई साधारण बनायौं भने जस्तोसुकै परिस्थितीमा पनि हामीले आफुलाई सहजै ढाल्न सक्छौं ।

साधारण हुनु भनेको हाम्रो चालढाल, खानपान सामन्य हुनु हो । जब हामी आफुलाई सामान्य जीवनयापनमा अभ्यस्त बनाउन थाल्छौं, जीवनामा अनावश्यक उतारचढाव झेल्नुपर्ने छैन ।

विश्वका कतिपय ठूला चिन्तक/विचारक, धनाड्य, शक्तिशाली व्यक्तिहरु पनि आफुलाई जतिसक्दो साधारण बनाउने कोसिस गरेका छन् । उनीहरु उदाहरणिय पनि भएका छन् । साधारण जीवनशैली अपनाउनेहरुमा लोभ, मोह, आकंक्षा, इष्र्या हुँदैन । यही अवगुण नहुने हुँदा उनीहरु शालिन र सभ्य पनि देखिन्छन् ।

जति हामी आफुलाई विशिष्ठ देखाउने कोशिस गर्छौं, उत्तिनै हाम्रो आकंक्षा बढ्छ । हाम्रो शान-सौकत बढ्छ । हामी विलासी जीवनशैलीमा प्रवेश गर्नेछौं । भनिन्छ, विलासी जीवनशैली अरु बढी दुखदायी छ । विलासी जीवनशैली नै आज रोगको कारण बनिरहेको छ ।

साधारण बनौं । सामान्य जीवनयापनमा सन्तोष गरौं । अनावश्यक आकंक्षा नराखौं ।

तपाईको प्रतिक्रिया