सुन्दरहरैचा, सुन्दरहरैचामा हजारौं भक्तजनको उपस्थितिमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । शनिबार दिउँसो २ बजे देखी राधाकृष्ण मन्दिरबाट रथयात्रको प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष श्रीकृष्ण जन्मअष्टमीको भोलिपल्ट मन्दिर परिषरबाट विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिन्छ ।

रथयात्रा सगै यो वर्ष भने हेलिकप्टरबाट पुष्पवर्षा समेत गरिएको थियो भने स्थानिय देखी व्यापारी सम्मको उल्लेख्य मात्रामा उपस्तिती रहेको थियो । रथयात्राको उद्घाटन भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गरेका थिए ।

मुख्य सडकको पेटीमा मानव सागरझैँ उर्लिएका भक्तजनलाई दर्शनको अवसर दिन विभिन्न ठाउँमा विश्राम गरी रथयात्रा अगाडि बढाइएको थियो । साथै अन्य सँस्कृति झल्किने झाँकी, लाखे, नाचगान लगायत श्रद्घालुबीच चिसो पानी तथा जुसको पेय पदार्थ वितरण गर्ने विभिन्न संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी संयमसेवकहरु रथयात्रामा सहभागी भएका थिए । रथयात्रामा सुन्दरहरैंचा नपाकाे दमकलले पानीकाे व्यवस्था समेत गरेकाेले विभिन्न संघ संस्थाको ब्यानरमा एकता र सद्भभावका साथमा धार्मिक विधिपूर्वक सहभागी भएर आफ्नो ठाउँको पहिचान तथा इतिहासलाई उच्च राख्दै रथयात्रामा हजारौँ श्रद्धालु भक्तजन सहभागी भएको सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

सुन्दरहरैचा नगर क्षेत्रमा विगत ४८ वर्षदेखि स्थापित श्रीकृष्ण प्रणामी मन्दिर विराटचोकबाट सुरु भएको रथयात्रा यस ठाउँको धार्मिक सामाजिक मुल्य मान्यतालाई कायम राख्दै अघि बढ्न सफल भएको श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा वास्ताेलाले बताए ।

नगरमा रथको अभाव भएको बेला विशेष प्रकारको आकर्षक रथलाई सुन्दरहरैचा नगरपालिकाले विशेष आर्थिक सहयोग गरी नेपालकै नमुना रथको रुपमा गत बर्ष नै निर्माण समेत गरेकाे रथयात्रा व्यवस्थापन समितिका सदस्य रामप्रसाद गजुरेलले बताए ।

रथयात्रामा विभिन्न सहयोगी संघसंस्था धार्मिक भक्तजन भजनकीर्तन टोली, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी धर्मप्रेमी महानुभावहरु हर्षोल्लासका साथ सहभागी भएको उधोगपती भोलेश्वर दुलालले बताए ।

४८ वर्ष देखी मनाउदै आएको यो रथयात्रा आगामी दिनमा नेपालकै दोश्रो रथयात्रा बनाइने जमर्कोका साथ यस वर्ष देखी यहाँका विभिन्न धार्मीक संघसस्थाहरुको एक्यबद्दतामा सयुक्त रुपमा रथयात्रा निकाल्ने जमर्को गरिएको स्थानिय व्यवसायी ज्ञानु ढकालले बताए ।

तपाईको प्रतिक्रिया