एकपछि अर्को वडा कार्यालयमा चोरी भइरहेको थियो । चोरीको श्रृंखला चलिरहेको एक वर्ष नाघिसक्दा पनि चोरी गर्ने व्यक्ति पक्राउ गर्न नसक्दा प्रहरीलाई लाज लाग्ने अवस्था आइसकेको थियो ।
बुधबार प्रहरीले राहतको सास फेर्यो । श्रृंखलाबद्ध चोरी गर्ने एक जना पक्राउ परेका छन् । पोखरा महानगरका ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की भन्छन्, ‘लामो समयसम्म चोरलाई पक्रन नसक्दा लाज लाग्ने स्थिति आइसकेको थियो । अन्ततः हामी सफल भयौं ।’
वडा कार्यालयमा चोरीको श्रृंखला ३ जेठ ०७५ मा पोखरा १२ को वडा कार्यालयबाट सुरु भएको थियो । १ वर्षको अवधिमा पोखरा महानगरका १३, ५, ३१, ६, १४ २९, १६ लगायत ११ वटा वडामा श्रृंखलाबद्ध चोरी भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सबै चोरीमा थापाको संलग्नता देखिएको प्रहरीले बताएको छ । ‘हामीसँग भएको प्रमाण र सिसिटिभी फुटेज हेर्दा घटनामा संलग्न एउटै व्यक्ति हो भन्ने एकिन गर्यौं,’ एसपी कार्कीले भनेका छन् ।
रातको समयमा वडा कार्यालयमा चोरी गर्ने थापाले विद्युतीय उपकरणमात्र उठाउँथे । नजिकै निर्माणाधीन घरमा लुक्थे र विहानै गाडी चढेर काठमाडौंतिर हुइँकिन्थे । ‘राति साढे ११ बजेदेखि साढे १२ बजेको बीचमा वडा कार्यालयमा चोर्ने गरेको खुलेको छ,’ एसपी कार्की भन्छन्, ‘सुरक्षा व्यवस्था कमजोर हुने भएकाले सजिलै चोर्ने र चोरीका सामान नजिकैका निर्माणाधीन भवनमा लुकाउने र उपयुक्त समय हेरेर काठमाडौं लैजाने गरेको पाइयो ।’

तपाईको प्रतिक्रिया