इटहरी । नजिकिदै गरेको तिजको अवसर पारेर उद्योग वाणिज्य संघ इटहरीले एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ । खानपान, नाचगान गरेर मात्र मनाईने तिजलाई भिन्न अनि व्यवहारिक रुपले मनाउने उद्धेश्यले महिलाहरुको पाठेघर, स्तन क्यानसर सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
नोवल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा इटहरी उपमहानगरपालीकाको २० वटा वडाबाट करिब २९२ जना बिरामीले सेवा लिएको उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक गायत्री भण्डारिले जानकारी दिईन् । निःशुल्क रुपमा गरिएको परिक्षणमा १६५ जनाले अल्ट्रा साउण्ड , १२५ जनाले इसिजिको सेवा लिएका छन् भने ५५ जना जटिल समस्याका बिरामीहरु भेटिएका छन् । जसमध्ये ६५ जनालाई नोवेल मेडिकलमा रेफर गरिएको कार्यक्रम संयोजक एवंम वाणिज्य सचिव शोभा कोईरालाले बताईन् ।
निःशुल्क परिक्षण संगै करिब एक लाख २५ हजार बराबरको औषधि पनि निःशुल्क बितरण गरिएको छ । जसमध्ये ७५ हजार बराबरको औषधि नवरत्न मेडिसिन, इटहरीका सन्तोष सुवेदीले सहयोग गरेको थियो भने देव मेडिकल र रोशन कटुवालले ५० हजार बराबरको सहयोग गरेका छन् । यो शिविरमा ७६ बर्षिय बृद्धाले पनि सेवा लिनु भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया