महेश प्रसाद गुरागाई ‘आमा’ यो शब्द आफैंमा कति गहन छ अनि कति महान पनि । हर मानिसको जीवनमा आमाको जुन स्थान छ, त्यो कसैसँग तुलनै हुनै सक्दैन, यो अतुलनिय छ, सम्मानित छ । आमाको ममता अनि त्यो मार्गदर्शन दुनियाका कुनै माया र कुनै विश्वका अनेकन दर्शनहरुले भेट्न समेत सक्दैनन् । आमा मानव जगतमा सृष्टिको एउटा पाटो हुन् भने भौतिक जीवनको सबभन्दा ठूलो विश्व विद्यालयकी एक मात्र गुरुमा । आमाको बारेमा जति भने पनि त्यो अपूरो नै रहन्छ । एउटा मानिसले जीवनमा आमा गुमाउँदा पर्ने फरक सायद कल्पना भन्दा बाहिर हुन सक्छ । आमा बिनाको जीवन निरश तथा बैराग्य मात्रै हुन्छ । चारैतिर शुन्यता अनि अभिभावकत्वको कमि भएको हर आमा गुमाएका सन्तानले महशुस गरेकै हुन्छन् । ‘म’ पनि आमा गुमाएको एक सन्तान । म महशुस गरिरहेको छु, आमा बिनाको जीवन म भोगिरहेको छु आमा गुमाउँदाको एक्लोपन अनि रङ्गहीन लाग्ने जीवन ।

आज म जुन ठाउँमा उभ्भिएको छु मेरी आमा नभएको भए म र मेरो संसार पनि हुने थिएन । हो यो भौतिक दुनियामा मेरी आमाले आज भन्दा ठीक ३५ वर्ष अगाडि मलाई यो दुनियामा यो सांसरिक जीवनमा कान्छो छोरोको रुपमा पर्दापण गराउँदा त्यो शुनसान रातमा सायद आमा जति खुसी कोहि थिएनन् होला । सुनसान त्यो मध्य रातमा ‘च्याँ’ गरेर रोएको मेरो रोदन सुनेर हत्तार हत्तार मलाई छातीमा टासेर आफ्नो ममतामा बाँध्ने मेरी आमा मेरो जीवनको ३६ औं बसन्तलाई टेक्दै गर्दा मेरो जीवलाई सुन्य बनाएर खै कता हो कता विलिन हुनु भएको छ । यो मेरो जन्मदिनमा आमाको काखको ठाउँमा आमाको अशीर्वादको ठाउँमा सुन्यताको बीचमा आफ्नै आँसुले स्पर्श गरिरहेको छु । यता उता जहाँ जता खोजे पनि आमा पाउने मेरो प्रयास निरर्थक भइरहेको छ ।

सन्तान जति नै ठूलो होस् आमा बावुको अगाडि सदैव सानै ठहरिन्छ । सायद त्यसैले त होला हरपल मेरो चिन्तामा डुबिरहने मेरी आमा मेरो यो विषेश दिनमा समेत नआउने गरी खै कुन दुनियामा पुग्नु भयो ? विश्वाश लाग्दैन मलाई मेरी आमा अब हामीसँग कहिलै आउनु हुन्न । अझै आशा लाग्छ, आँखाले आमाकै बाटो हेर्छन्, कतै आई पो हाल्नु होला कि ! अनि थाकेर जीवनसँग हार मानेर निराश भएर बसेको बेला आएर सुम्सुमाउँदै जीवनमा संघर्षबाट नहार्न प्रेरणा दिन डाढस दिन आइ पो हाल्नु होला कि भनेर ! तर यी कोरा कल्पना मात्रै भएर रहे ।
आमाको ममता अनि त्यो न्यानो काखको पूर्णभोग गर्ने चाहाना कै बीचमा अप्रत्यासीत रुपमा त्यो पापी ‘हर्ट–अट्याक’ ले आमाको प्राण पखेरु टिपेर लानु भन्दा दश पन्ध्र मिनेट अगाडि सम्म ड्युटिमा खटिरहेको मलाई रातिसम्म घर आई पुगेन भनेर चिन्ताग्रस्त मेरी आमासँग भेट्न नदिई कुन दुनियाँमा लिएर गयो, अझै पत्तो पाउन सकेको छुइन मैले । केहि दिन अगाडिदेखिको भेट गर्ने चाहाना अपुरो छाडेर आमा यो दुनियामा कहिल्यै नफर्किने गरी जानु भयो । सायद मेरी आमालाई पूर्व संकेत पो थियो कि उहाँको लागि यो संसार केहि दिनको मात्र हो र त आकस्मीक योजना बनाएर आफ्नी ९० वर्षकी आमालाई भेट््न केहि दिन अगाडि माईत जानु भएको । यो नियतिको खेल माइतीबाट फर्केको ७ घण्टा पनि नबित्दै मसँग भेट समेत नगरी खै कता जानु भयो कता, म खोजिरहेको छु मेरी आमालाई ।

हय दैव ! मावलाबाट ल्याएको कोसेली मेरो लागि छुट्याएर राखेको त्यो खानेकुरा आफ्नो हातबाट नखुवाई मसँग भेट्न समेत नदिई कहाँ लगिस् मेरी आमालाई तँैलै ? हामीलाई टुहुरो बनाएर मेरो जन्मदिन आउनै लाग्दा ६७ वर्षकै उमेरमा किन खोसिस् आमालाई हामीबाट ?
जन्मेर आज श्रावण १२ गते ३६ वर्ष टेक्दै गर्दा मैले थाहा पाए सम्म कुनै जन्मदिनमा मैले मेरी आमाको आशीर्वाद नलिएको शायद कुर्नै जन्मदिन थिएन । हरेक जन्मदिनका दिन मेरा थप प्रगति र निरोगिताको लागि आमाबाट प्राप्त हुने त्यो आशीर्वादले जीवनलाई थप उर्जाशील बनाउन मेरो जीवनको एक महत्जपूर्ण क्षण हुन्थ्यो तर आज मैले मेरी आमाको खुट्टा ढोगेर आशीर्वाद लिन पाइन । आमाको आशीर्वाद विनाको यो जन्मदिनको कुनै रौनकता छैन, कुनै हर्ष छैन । जीवनको मुख्य उज्यालो निभेपछि जीवनको रङ्ग नै उडेको छ । अबका मेरो जीवनकालका हरेक जन्मदिनले आमा बिनाको फोस्रो दिनलाई संकेत गर्नेछ ।

अफिसबाट थाकेर घर पुग्दा गेट खोल्न ठिङ्ग उभिएर ‘कत्रो रात पारेको’ भन्दै ममताले चुर्लुम्म डुबाउने मेरी आमाको अभावले मन अशान्त छ, अक्रान्त छ । घरमा पुगेर अझै पनि एकपटक आमा बुवाको कोठामा सधै झैँ सुतिरहनुभएको पो छ कि हेर्न मन लाग्छ । घरी न घरी आएर ‘कान्छा थाकेर आको होलास्, खाना खाएर आराम गर’ भन्न आउनु होला कि भन्ने आशा लाग्छ । तर खै, यो आशा त्यो असार ९ गते सोमबारका दिनदेखि सदैव कोरा इच्छा बनेर बसेको छ । अफिसमा काम गर्दै गर्दा घरी घरी आँखा मोबाइलमा पर्छन्, कतै मेरी आमाले मलाई फोन गरेर सधा झैँ ‘बावु कहाँ छस्, के खाइस् ?’ भनेर सोध्नु होला कि भनेर, तर यो भाग्य कहाँ रहेछ र मेरो ?
आमा हजुरले यो दुनिया छाडेर जानु भएको यो एक महिनामा कति आँसु बगे, कति मन तड्पिए, कति वैचनि भयो सायद हजरुले त्योृ दुनियाबाट हेरिरहनु भएकै होला । बाँचुन्जेल भौतिक सुख, सुविधा दिन सायद सकिन तर केशिस गरिरहेकै थिएँ आमा । हजुरको आँखाबाट आँसु बग्ने कारण कहिल्यै नबनौँ यहि चाहन्थेँ तर खै आमा हजुरलाई मेरो आयु थप्न सकिन । दिनरात बुवाको आँखाबाट लुकिलुकि बग्ने आँशु देखेर हजुर पनि त्यो दुनियाबाट तड्पिनु हँुदो हो, के गराँै आमा म आफँै सम्हालिन सकेको छुइन बुवालाई सम्हाल्ने आँट आएको छैन, तथापी कोशिस गरिरहेको छु ।

आमा आज मेरो जन्मदिन यदि हजुर नभएको भए म यो दुनियामा कसरी हुन्थँे ? अनि मेरो सृष्टिकर्ता हजुरको अनुपस्थितिमा मेरो जीवनको, मेरो जन्मदिनको के सार्थकता रहन्छ र ? हजुरको झलझली आँखा, मन, मुटुमा आउने याद र मायाले पोलिरहन्छ । आमा आजको पल हजुरको याद झन् एकदमै धेरै आइरहेको छ । हजुरले दुःख कष्ट केहि नभनि मेरो शरीरलाई फूल जसरी राखेर हुर्काउनु भएको थियो नि, मेरो सानो मात्र कष्ट देख्दा पनि तपाईं पागल झै हुनुहुन्थ्यो, यहि मेरो हातले हजुरको कोमल शरीरलाई दागबत्ती दिएर आगोमा दनदन बाल्न विवश हँुदा पनि हजुर किन एक वचन ‘ऐया’ भनेर उठ्नु भएन आमा ? त्यसरी त्यो नदिको छेउमा आगोमा बलिरहेको शरीरलाई हामी रमितेझँै हेर्न विवश थियाँै, कति पोल्यो होला आमा हजुरलाई ?

आमा ! मान्छे कति विवश हुँदो रहेछ ?न त खुलेर हाँस्न सकिदो रहेछ न त रुन नै । आमा हजुरको काखमा लुटपुटिएर बेरोकटोक डाँको छाडेर रुन मन छ, तर रुन समेत भाग्यमा चाहिँदो रहेछ । जीवनमा एउटा जुन गाँठो परेको छ त्यो कुराले मात्र खुल्दो रहेनछ । आमा बिनाको मेरो यो जन्मदिन तथा जीवन फिक्का भएको छ अनि शायद मुल्यहीन पनि । आमाको काख छुटेदेखि निरासाको काखमा बसेर आँशु बगाउँदैमा यो महिना दिन बितेर गयो । दःु खी र बेसहारा मान्छेको जीवन कति शुन्य हुन्छ त्यो मैले महशुस गरिरहेको छु । यद्यपि आमाले उपहार दिएर जानुभएको मेरो जीवन बाँकी छ, यो बाँकी जीवन आमाप्रति श्रद्धाभावका साथ समर्पित हुँदै सकारात्मक तथा उर्जाशिल बनाउनु पनि मेरो दायित्व बनेको छ ।

तपाईको प्रतिक्रिया