पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एकताको बाँकी कार्य साउनभरमा टुंगिने बताउनु भएको छ ।

‘एकताको रहलपहल कार्य साउनभित्रै टुंगिन्छ’ पुष्पलालको ४१ औं स्मृतिमा मंगलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘एकता टुंगिएपछि साउनभित्रै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्छ । त्यो बैठकले पार्टीको कार्य योजना बनाउँछ । त्यसपछि विशाल कार्ययोजनासहित जनतामा जाने वातावरण बन्छ ।’

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध पार्ने संकल्पसहित एमाले र माओवादी केन्द्रबीच एकता भएको स्मरण गराउनुभयो । ‘एकता अपर्झट भएको होइन, हामीलाई कसैले एक बनाइदिएको पनि होइन’ उहाँले भन्नुभयो, ‘एमाले र माओवादीको एकता साधारण प्रकृयाबाट भएको होइन । एकतासम्म आइपुग्न हामीले धेरै जटिलता पार गर्नुपर्यो । त्यसकारण यो एकता असाधरण हो । एकता हुनुअघि माधव नेपालजी र मेरो धेरै पटक भेटघाट भएको छ । छलफल भएको छ । यहाँसम्म आइपुग्न माधवजी र मैले विभिन्न योजना बनायौ, अनेकौ प्रयास भए । त्यो कसै थाहा छैन । धेरैले उहाँबीच आरोप र प्रत्यारोप भएको मात्र देख्छन् ।’

पूर्व प्रधानमन्त्री दाहालले मुलुकमा कम्युनिष्ट पार्टी सफल हुनुमा पुष्पलालको योगदान रहेको उल्लेख गर्नुभयो । ‘पुष्पलाललाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव भनेर मात्र पुग्दैन’ उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टी गठनमा, पार्टीको विचार निर्माण र त्यसको प्रचारप्रसारमा उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ ।’

दाहाल–नेपाल एकान्त वार्ता
नेकपाको पोलिटव्युरो, विभिन्न आयोग तथा समिति गठन र केन्द्रीय सदस्यको कार्यविभाजन तोक्न बाँकी छ । त्यस बिषयमा शीर्ष नेताबीच खिचातानी भइरहेको छ । यहीबेला अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान एकान्त वार्ता भएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच पुष्पलाल स्मृति प्रतिष्ठानमा एकान्त वार्ता भएको हो । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमपछि उहाँहरुबीच ४० मिनेट छलफल भएको थियो । उहाँहरुबीच के छलफल भयो ? दुबै नेताले गोप्य राख्नु भएको छ ।

तपाईको प्रतिक्रिया