धरान, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ९ जना पदाधिकारी तथा कर्मचारीलाई अख्तियारले कारबाही प्रक्रिया अगाडि बढाएको छ । आर्थिक अनियमितता र भ्रष्टाचारले धरासायी बन्दै गएको बिपी प्रतिष्ठानमा नयाँ नेतृत्व सक्षम ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।

गत असार ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियारलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको साता दिन नबित्दै पूर्व उपकुलपति प्राध्यापक डाक्टर बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ । राजनीतिक स्वार्थ अनुरुप पदाधिकारी नियुक्ति हुँदा प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितता बढेको स्थानीय अजय राईको भनाइ छ ।

प्रतिष्ठानको उपकुलपति प्रतिष्ठान भित्रैबाट बन्ने नीति बनेपछि आर्थिक चलखेल हुने गरेको स्थानीयको आशंका छ । अख्तियारले सुधारोन्मुख काम गरेपनि आगामी दिनमा प्रतिष्ठानमा नयाँ पदाधिकारी दलको सिफारिसमा नियुक्ति गर्ने प्रचलन रोकिनुपर्ने धरान उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष प्रविण राईले बताउनुभयो ।

भ्रष्टाचार र आर्थिक अनियमितताले थलिँदै गएको प्रतिष्ठानलाई जोगाउन स्वास्थ्य सेवामा दक्ष जनशक्तिको खाँचो छ ।

सभार: जनता समाचार

तपाईको प्रतिक्रिया