पछिल्लो एक सातादेखि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि भएको छ । गत साता गएको बाढी र पहिरोको वहानामा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य सातामै दोब्बर वृद्धि गरेका हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बाढी र पहिरोले केही रूपमा बढे पनि बिचौलियाकै कारण बजारमा अस्वाभाविक रूपमा तरकारीको मूल्यवृद्धि भएको बताए । बाढीपहिरोको बहाना बनाएर व्यापारीले मनपरी मूल्य लिने गरेको पाइएको बताए ।

धादिङ र काभे्रमा प्रतिकेजी ५० रुपैयाँ गोलभेडा व्यापारीले १५० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाएको बताए । यसैगरी, काभ्रेमा ६० रुपैयाँ पर्ने बोडीलाई काठमाडौं कालिमाटी बजारका व्यापारीले १६० रुपैयाँसम्म बिक्री गर्ने गरेको पाइएको बताए । महानिर्देशक गौचनले बजारमा बिचौलियको हावी भएकै कारणले नै प्रतिकेजी दोब्बर भएको बताए ।

यसैगरी, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पछिल्लो समय बाढीपहिरोको बहानामा बजारमा बिचौलियाको हाबीकै कारण तरकारीको मूल्य अस्भाविक रूपमा बढेको बताए । उनले भने, ‘बिचौलियाले काभ्रे जिल्लाका किसानबाट ४० देखि ५० रुपैयाँमा ल्याएको तरकारी कालिमाटी बजारमा बल्खुबारमा १५० देखि १६० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको पाएको बताए । व्यापारीले बाढीपहिरोको बहाना बनाए पनि त्यो यथार्थ नभएको तिमल्सिनाको भनाइ छ ।

कालिमाटी तरकारी तथा फलपूmल विकास बोर्डको तथ्यांकअनुसार शुक्रबार प्रतिकेजी गोलभेंडाको मूल्य १३० रुपैयाँ पुगेको छ । यसैगरी प्रतिकेजी काउलीको मूल्य १३० रुपैयाँ, भन्टा ११०, बोडी १५०, घिउ सिमी १५०, तीतेकरेला १३०, लौका ९० अदुवा २५० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया