इटहरी । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बेलुका ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ५४ हजार ९५० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।  कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको  छ।  पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २१ वटा ढोका खुल्ला गरिएको  छ ।पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जनाएको छ।

पानीको बहाव उच्च भएपछी सप्तकोसी  व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ । २०६५ भदौ–२ गते एक लाख ६८ हजार प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए। त्यो बेला सप्तकोसीलाई तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो। एकपटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्ने भएकाले गर्दा स्थानीय बासीन्दा जहिले त्राहीमाम हुने गरेका हुन् ।

तपाईको प्रतिक्रिया