पोखरा, पोखरा महानगरपालिका २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे छ । डाइभर्सन बगाएपछि १० टनभन्दा माथिका लाेड बाेक्ने मालावाहक सवारीकाे आवागमन बन्द भएको छ ।

साेमबार रातीकाे बाढीले डाइभर्सन बगाएकाे हाे । जसका कारण मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

बाढीले गर्दा यसअघि चर्किएर जाेखिमयुक्त बनेकाे विजयपुरकाे पक्की पुलमा लगाएकाे फलामकाे सपाेर्ट समेत समेत बगाएकाे छ । जसका कारण साे पुलबाट सवारी आवागमन प्रभावित हुने भएकाे छ ।

गत माघमा पुलकाे नियमित मर्मत सम्भारका क्रममा पुलकाे सपाेर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केकाे पाइएकाे थियाे । त्यसपछि मालबाहक गाडी सञ्चालनमा राेक लगाइ डाइभर्सन बनाइएकाे थियाे ।

पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । तर असार मसान्त सम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम छ ।

तपाईको प्रतिक्रिया