भारतको मुम्बईमा १५ वर्षका एक किशोरले १२ वर्षकी एक बालिकालाई जिस्क्याएको र गोरेगाँवस्थित भवनको आठौं तल्लाबाट लडाएको घटना सार्वजनिक भएको छ । प्रहरीले किशोरलाई मंगलवार पक्राउ गरेर हिरासतमा लिएको छ ।

बालिका गम्भीर रूपमा घाइते छिन् ।

घटना शनिवार भएको प्रहरीको भनाइ छ । पीडित बालिकाकी आठ वर्षीया बहिनी प्रत्यक्षदर्शी हुन् । उनैले जानकारी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, किशोरले पीडित बालिकाका साथ आपत्तिजनक व्यवहार गरेपछि बालिकाले विरोध गरिन् । त्यसपछि किशोरले बालिकालाई धक्का दियो ।

बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ । निजी अस्पतालमा उनको उपचार चलिरहेको छ ।

आरोपित किशोरका आमाबुवाले अपराध लुकाएको र प्रमाण नष्ट गरेको आरोप छ । प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको छ । आरोपितले आफ्ना आमाबुवालाई घटनाको बारेमा बताउँदा उनीहरूले उसलाई एक नातेदारकहाँ पठाए । अनि किशोरको फोनबाट पीडित बालिका र उसबीच भएको कुराकानीको सबै मेसेज पनि डिलिट गरिदिए ।

शनिवार साँझ बालिका सामान किन्न बाहिर निस्कँदा किशोरले पछ्याएका थिए । उसले जिस्क्याउन थालेपछि दुईजनाबीच झगडा भयो र उसले बालिकालाई धकेलेर लडायो ।

आरोपित किशोरमाथि ज्यान मार्ने उद्योग तथा यौन दुर्व्यवहारको मुद्दा लगाइएको छ । पीडित बालिकाका काकाले आरोपितका आमाबुवाले आफूहरूलाई धम्क्याएको गुनासो गरेपछि धम्कीको आरोप पनि जोडिएको छ ।

तपाईको प्रतिक्रिया