विराटनगर,  विराटनगरमा भएको एउटा शंकास्पद सवारी दुर्घटनामा नक्कली चालक खडा गर्ने प्रयास असफल भएको छ । दुर्घटनामा युवकको मृत्यु भएपछि आफ्नै घरमा कार लुकाएर फरार रहेका विराटनगर महानगरपालिका–६ का ३० वर्षीय किरण लामा पक्राउ परेका छन् । लामालाई विराटनगरको पुष्पलाल चोक क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार शनिबारराति विराटनगर–४ बरगाछीमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३५ प ५६३४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा २० च ७४० नम्बरको कारले ठक्कर दिएर लामा फरार बनेका थिए ।

राति करिब ११ बजेतिर कारले ठक्कर दिंदा मोटरसाइकल चालक विराटनगर–१२ का १९ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको थियो । ठक्करपछि गम्भीर घाइते मिश्रको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार लामाकै भएको खुले पनि तत्काल कसले हाँकेको भन्ने खुलेको थिएन । डीएसपी श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट कार लामाले नै हाँकेको पुष्टि हुने बताए ।

दुर्घटना लगत्तै फरार रहेका लामाको घरबाट कार बरामद भएको थियो । दुर्घटनामा परेर सामान्य घाइते बनेका उनको पनि दाहिने पाखुरामा चोट छ । प्रहरीका अनुसार जग्गा कारोबारदेखि मिटर ब्याजसम्मको धन्दा चलाइरहेका लामा पटकपटक विभिन्न खाले विवादमा मुछिदै आएका व्यक्ति हुन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार उनी केही साथीहरुसँग शनिबारराति विराटनगर एयरपोर्ट मोड नजिकैको ह्याजट्याग होटलमा मापसे गर्न पुगेका थिए । त्यस क्रममा उनले २९ हजार रुपैयाँ बिल तिरेको प्रहरीले जनाएको छ । ‘मापसे गर्ने क्रममै होटलमा पनि विवाद भएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘विवादपछि लामाले हाँकेर बरगाछी आइपुगेको कारले मिश्रले चलाएको मोटरसाइकललाई ठक्कर दिएको अनुसन्धानबाट खुलेको छ ।’ सामान्य विवादलाई लिएर लामाले पिछा गरिरहेको मोटरसाइकललाई बरगाछीमा भेटेपछि ठक्कर दिएको र घटना भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया