सरकारले भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण पास गरेपछि मात्रै आयात गर्न पाउने नीतिगत व्यवस्था गरेको छ। गुणस्तरहीन बस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौति देखिएको छ।

आवश्यक पर्याप्त मात्रामा पूर्वाधार नहुनाले  कार्यान्वयनमा समस्या देखिएको हो। पर्याप्त मात्रामा मेशिन र जनशक्ति नभएकाले नीति कार्यान्वयन गर्न गाह्रो हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका महानिर्देशक योगेन्द्र गौचन बताउँछन्।

‘पर्याप्त स्रोत साधन नहुँदा नीति कार्यान्वयन गर्न गाह्रो छ, तर अहिले नगरे कहिले गर्ने’, उनले भने, ‘विभाग, कृषिमन्त्रालय बसेर छलफल गरी विषादी परीक्षणको जिम्मा कृषि मन्त्रालयलाई दिइएको छ’, उनले भने।

विषादी परीक्षणको जिम्मा कृषिले लिए पनि जनशक्ति तथा उपकरणको अभाव देखिएको छ। हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्छ।

भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानुपर्ने बाध्यता छ। यो बाध्यताका कारण तरकारी बाटोमा धेरै अवधिसम्म राख्नुपर्ने र बिग्रने समस्या आउने व्यवसायी बताउँछन्।

सरकारले विषादी परीक्षण पास नभएका वस्तुको आयात रोक्का गरेपछि भैरहवा भन्सार कार्यालयमा हिजोदेखि तरकारी तथा फलफूल नआएको कार्यालयका प्रमुख कमल कुमार भट्टराईले बताए।

दक्ष जनशक्तिको अभावका कारण विषादी जाँच्नमा समस्या भएको विरगञ्ज भन्सार कार्यालयले बताएको छ। कालिमाटी बजारमा आउने सबै तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएको कालिमाटी फलफल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।

कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ। भारतबाट आउने ४० प्रतिशत नेपालमा कम उत्पादन हुने कृषि उपजमा पर्दछन्। यसरी सामान बोर्डर एरियामा रोकिँदा नेपाली बजारमा यसको मूल्य बढ्न सक्ने उनी बताउँछन्।

‘विषादी परिक्षण गर्नु राम्रो कुरा हो। तर प्रत्येक भन्सार कार्यालयमा विषादी जाँचको उपकरण तथा जनशक्ति नहुँदा व्यवसायीलाई नै समस्या भएको छ’आयातकर्ता भरत खनालले भने। सरकारले भन्सारमा सामान बिसाएर काठमाडौंमा नमुना ल्याई जाँच गराएर मात्रै ल्याउन भन्ने गरेको उनले बताए। ‘सामान भन्सारमा राखेर काठमाडौं आई नमुनाको विषादी जाँच्नु सास्ती मात्रै हो’ उनले भने।

भन्सारको बोर्डरमा सामान राखेर काठमाडौँ आएर विशादी जाँच गराई जाने बेलासम्ममा सामान विग्रिने भएकाले सरकारले प्रत्येक भन्सारमा विषादी परिक्षण गर्नुपर्ने व्यवसायीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया