विराटनगर, विराटनगर विमानस्थलमा बुधबार एकाबिहानै एक्कासि धुँवाको मुस्लो छुट्यो । भर्खरै अवतरण भएको जहाजमा आगो लागेको थियो । धुँवाको मुस्लोले विमानस्थल वरपर छोपिरहँदा दमकल र एम्बुलेन्स साइरन बजाउँदै घटनास्थलतर्फ हुँकिए । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी एवं रेडक्रसकर्मीहरु त्यतै दौडिए । दमकलले जहाजमा लागेको आगो निभाउन थाले । उद्धारकर्मीले घटनामा परेका घाइतेहरुलाई उद्धार गर्दै एम्बुलेन्समा राख्न थाले । एम्बुलेन्स साइरन मार्दै घाइते बोकेर अस्पतालतर्फ दौडिए । वरपरका सबै अचम्मित हुँदै त्रासपूर्ण रुपमा घटना हेरिरहेका थिए ।

यो वास्तविक घटना नभइकन जहाज दुर्घटना भएका बेला बढी मात्रामा हुन सक्ने मानविय एवं भौतिक क्षति न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास थियो । बिना पूर्व सूचना गरिएको अभ्यासका कारण त्यहाँको वातावरण त्रासपूर्ण बनेको थियो । विमानस्थल वरपरका बासिन्दा भने डराएका थिए । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी लगायत पूर्व अभ्यास हेर्नका लागि विमानस्थल पुगेका थिए ।

विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरिएको विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौला बताए । विमानस्थल भित्र जहाज दुर्घटना भएमा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि उद्धारको स्तर र क्षमतालाई बढाउन यस्तो अभ्यास गर्ने गरिएको उनको भनाइ छ । ‘यस्तो अभ्यासनले हाम्रो स्तर र क्षमता कस्तो छ भन्ने कुराको पुष्टि गर्छ,’ उनले भने, ‘कुनै घटना भइहाले उद्धार क्षमता बढाउन पनि मद्धत गर्छ ।’

तपाईको प्रतिक्रिया